काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनाल, नेकपाका नेताद्वय महेश बस्नेत र कृष्णबहादुर श्रेष्ठ विरुद्ध जाहेरी लिन सरकारी वकिललको कार्यालय काठमाडौंले अस्वीकार गरेको छ । अपहरण मुद्दामा जाहेरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरू आज काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय पुगेका थिए ।
सो पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई केही दिन अघि महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याइएको समाजवादीको आरोप छ । तर जाहेरी अध्ययनका लागि समय लाग्ने भन्दै कार्यालयले जाहेरी दर्ता गर्न नमानेको हो । जनता समाजवादी पार्टीका नेताहरुले भने सरकारकै निर्देशनमा जाहेरी नलिएको दावी गरेका छन ।
सरकारी वकिलको कार्यालयले दर्ता हुने नहुने बारे भोली मात्रै जवाफ दिने बताएको छ । यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंले अपहरणको उजुरी लिन अस्वीकार गरेको थियो । मुलुकी फौजदारी कार्य्विधि संहिता २०७४ को परिच्छेद २ को दफा ९ मा जाहेरी वा अपराधको सूचना तत्काल दर्ता गर्न सम्भव नभए नजिकको प्रहरी कार्यालयमा दिनसक्ने व्यवस्था गरेको छ । त्यस्तो सूचना वा जाहेरी सम्बन्धित प्रहरी कार्यालयले तीन दिनभित्र तोकिएको ईकाइमा पठाउनुपर्ने हुन्छ ।