६ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा १५ सय नेपालीलाई कोरोना संक्रमण, ६६ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
१७ जेष्ठ २०७७, शनिबार ११:३१


१ सय ५० जना अस्पताल भर्ना

लण्डन । बेलायतमा १५ सय भन्दा बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

गैरआवासीय नेपाली संघ यूकेले शुक्रबार जारी गरेको एक तथ्यांकले हालसम्म बेलायतमा १५ सय १७ नेपालीमा संक्रमण भएको देखाएको हो ।

संघको तथ्यांकअनुसार अहिलेसम्म बेलायतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ६६ जना नेपालीको मृत्यु भएको छ ।

कोरोना संक्रमण भएका कुल १५ सय १७ नेपालीमध्ये अधिकांश घरमै ‘आइसोलेसन’ बाट निको भएका छन् ।

कोरोना संक्रमणपछि बेलायतभर हालसम्म १ सय ५० जना नेपाली अस्पताल भर्ना भएको तथ्यांकले देखाएको छ । जसमध्ये ६६ जनाको मृत्यु भएको छ भने ७६ जना निको भएर घर फर्किएका छन् । अहिले पनि
विभिन्न अस्पतालमा उपचारकै क्रममा रहेका संक्रमित नेपालीको संख्या ८ छ ।

एनआरएनए यूकेले सञ्चालन गरेको हेल्पलाइन र आफ्ना प्रतिनिधिहरुको सक्रियतामा नेपालीको तथ्यांक बटुलेको हेल्पलाइनका संयोजक जीत रानाभाटले जानकारी दिए । तथ्यांक संकलन गर्न कोशलेश्वर ढकाल र हेम गुरुङले हेल्पलाइनको संयोजन गरेका थिए ।

एनआरएनए यूकेले बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत ५२ विद्यार्थीलाई राहत उपलब्ध गराइएको जनाएको छ ।

संस्थाको सम्पर्कमा आएका २ सय २४ विद्यार्थीमध्ये १३ जनालाई खाने बस्ने व्यवस्था र अन्यलाई विभिन्न परामर्श, रोजगारीका लागि सहायता जस्ता सहयोग दिइएको छ ।
संघले ६ हजार बढी भूपूगोखाहरुलाई स्वास्थ्य सुरक्षा सामग्रीका किट वितरण गरेको जनाएको छ ।