२८ बैशाख २०८१, शुक्रबार
Follow Us

यातायात कार्यालय कोशीका तत्कालीन चार प्रमुखसहित १७ जनाविरुद्ध मुद्दा दायर

नेपालब्रिटेन संवाददाता
२५ जेष्ठ २०७७, आईतवार १६:१३

काठमाडौं । यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन चार कार्यालय प्रमुखसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको छ । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको हो । तत्कालिन कार्यालय प्रमुख नयराज नेपाल, तिर्थराज लम्साल, गोपाल थपलिया, भुपेन्द्र राईसमेत उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नेपालविरुद्ध १ करोड ८ लाख २९ हजार, लम्सालविरुद्ध ३ करोड ३० लाख हजार , थपलिया १ करोड ३० लाख ७२ हजार, राईविरुद्ध ५६ लाख १२ हजार विगो कायम गरिएको छ । अख्तियारले सबैलाई गरी ४१ करोड ९० लाख ५० हजार ४ सय ३० रुपैयाँ बिगो दाबी गरेको छ ।

यातायात व्यवस्था कार्यालय कोशीको सवारी शाखाले चार महीनासम्म उठाएको राजस्व सरकारी खातामा जम्मा नगरी प्रमुख र कर्मचारीको मिलेमतोमा हिनामिना गरेको खुलेपछि अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा ४ महीनामा कार्यालय प्रमुख बनेका ४ जनाले लेखा अधिकृत र कम्प्युटर अपरेटरसँगको सहयोगमा आफू प्रमुख भएको अवधिमा उठेको राजस्व हिनामिना गरेको भेटिएको हो ।

२०७३/०७४ को २०७३ चैत्रदेखि २०७४ आषाढ मसान्तसम्म सेवाग्राहीहबाट संकलित राजस्व प्रचलित कानून बमोजिम सम्बन्धित राजस्व खातामा दाखिला नगराई राजस्व रकम हिनामिना गरिएको अख्तियारले जनाएको छ ।

उनका अनुसार सवारी दर्ता, नवीकरण र जाँचपास लगायतका शीर्षकमा उठेको राजस्व कार्यालय प्रमुखबाट हिनामिना भएको बताए । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ वमोजिम कैद सजाय र जरिवाना एवं बिगो असुल गर्न मागसहित विशेष अदालत आरोपपत्र दायर गरिएको छ ।