१५ बैशाख २०८१, शनिबार
Follow Us

मिर्गौला पीडितलाई अमेरिकाबाट सहयोग

नेपालब्रिटेन संवाददाता
११ श्रावण २०७७, आईतवार १०:०२

दुवै मिर्गौला फेल भएर डायलासिस गराइरहनुभएका ब्यास नगरपालिका–४ घर भई हाल चितवन बस्नु हुने राजु श्रेष्ठको उपचारका लागि अमेरिकाबाट सहयोग जुटेको छ । अमेरिकामा रहेका नेपालीबाट सङ्कलन भएको रु तीन लाख २९ हजार ७९२ मिर्गौलापीडित श्रेष्ठलाई प्रदान गरिएको छ ।

अमेरिकाको मेरिल्याण्डमा बसोवास गर्दै आएको किरण पन्थको सक्रियतामा उक्त रकम अमेरिकाबाट सङ्कलन गरिएको थियो । उक्त रकम श्रेष्ठको बैंक खातामा जम्मा भएको छ । मिर्गौलापीडित श्रेष्ठका अनुसार देश तथा विदेशबाट उपचारका लागि सहयोग आउने क्रम जारी छ । हालसम्म करिब रु २२ लाख रकम सङ्कलन भइसकेको छ ।

दमौलीमा लामो समय भिडियोग्राफरको रुपमा काम गर्दै आउनुभएका श्रेष्ठको एक्कासि मिर्गौलामा समस्या देखिएपछि उहाँको उपचारका लागि देश तथा विदेशबाट रकम सङ्कलन अभियान शुरु भएको छ । मिर्गौला प्रत्यारोपणका लागि आवश्यक रकम नभएपछि साथीभाईसँग अनुरोध गरेपछि देश तथा विदेशबाट रकम आउन थालेको पीडित श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठको उपचारका लागि केही दिन अगाडि मात्रै जापान, कतार, हङकङ, बेल्जियममा बसोवास गर्ने शुभेच्छुकबाट रु चार लाख ५९ हजार ६०० सहयोग प्राप्त भएको थियो । त्यस्तै बेलायतबाट रु पाँच लाख ६८ हजार सहयोग प्राप्त भएको छ । श्रेष्ठको उपचारका लागि दमौलीमा रहेका विभिन्न लायन्स क्लबहरुले पनि सहयोग सङ्कलन अभियान सञ्चालन गरेका थिए ।

केही महिना अगाडि मिर्गौलामा समस्या देखिएपछि चितवनस्थित मेडिकल कलेजमा चेकजाँच गरी औषधि सेवन गरेका श्रेष्ठको औषधिले काम नगरेपछि थप चेकजाँच गर्दा दुबै मिर्गौला फेल भएको पुष्टि भएको थियो । “दुबै मिर्गौलामा समस्या आएपछि चिकित्सकले नियमित डायलासिसलगायतका उपचार प्रक्रिया शुरु गर्न सुझाव दिए पनि आर्थिक अभावका कारण उपचारमा समस्या भएको थियो, अहिले आर्थिक सहयोग प्राप्त हुने क्रम जारी छ,” उहाँले भन्नुभयो ।