२५ बैशाख २०८१, मंगलवार
Follow Us

पुल्चोकमा रातो मछिन्द्रनाथको क्षमा पूजा गरियो

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०७७, शुक्रबार ०९:०८

काठमाडौं । रातो मछिन्द्रनाथको रथयात्रा अघि बढाउने क्रममा आज पुल्चोकमा क्षमा पूजा गरिएको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति अनुसार रथ रहेको स्थानमा क्षमा पूजा गरिएको हो ।

आठ जना पुजारीको सहभागितामा सुरुमा बुंगमतिका भैरवनाथको पूजा त्यस लगत्तै पुल्चोकमा आएर क्षमा पूजा गरिएको हो । छ महिनादेखि रोकिएको यस रथयात्रा नित्य पूजा गरेर सम्पन्न गर्ने उद्देश्यले क्षमा पूजा गरिएको ज्यापू समाजले जानकारी दिएको छ ।

सामान्य अवस्था भए ३०-३५ जना पूजारी सहभागी हुने भएपनि कोरोना संक्रमणका कारण सीमित पूजारीको सहभागितामा क्षमा पूजा गरिएको हो । मछिन्द्रनाथको रथलाई आइतबार सोह्रखुट्टेपाटीसम्म रथ तान्ने निर्णय सरोकारवालाको बैठकले हिजो नै गरिसकेको छ ।

२२ गते साइत हेरेर सम्भवत भाद्र २६ गते मछिन्द्रनाथलाई बुंगमति लैजाने योजना छ । सोही दिन बुङ्गमतीमा पुर्‍याएर मछिन्द्रनाथलाई मन्दिरमा बिराजमान गराउने तय भएको छ । यो साल भोटे देखाउने जात्रा भने नहुने भएको छ ।

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथ कोरोना महामारीका कारण पुल्चोकमा राखिएको महिनौ भइसकेको छ । कोरोना महामारीले गर्दा यो वर्ष सरकारले मानिस जमघटमा प्रतिबन्ध लगाएको कारण जात्रा रोकिएको हो ।