२० बैशाख २०८१, बिहीबार
Follow Us

आज जनकपुर आइपुग्दै नेपालको रेल

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०७७, शुक्रबार ०८:१६

काठमाडौं । भारतबाट खरिद गरिएको नेपालको दुई वटा इलेक्ट्रोनिक रेल जयनगर आइपुगेको छ । जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्न ल्याइएका यी दुई रेल आज जनकपुर आइपुग्ने रेल्वे विभागले जनाएको छ ।

नेपालको जनकपुर हुँदै भारतको जयनगर खण्डमा गुड्ने रेल नेपालको राष्ट्रिय झन्डा रातो र निलो रङमा तयार पारिएको छ । रेल भारत सरकारले रेल्वे विभागलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

परीक्षणपश्चात विधिवत सञ्चालन नहुन्जेल रेललाई जयनगरमै राखिने रेल्वे विभागले जनाएको छ । ब्रोडगेज रेलखण्ड तयार भए पनि रेल नहुँदा सेवा सुचारु हुन सकेको थिएन ।

यसअघि रहेको न्यारो गेजलाई हटाएर भारतको सहयोगमा जयनगर–जनकपुर–कुर्थासम्म ब्रोडगेज रेलमार्ग निर्माण गरिएको छ । दुई बर्षअघि नै जनकपुर जयनगर रेल सञ्चालनको तयारी सरकारले गरेको थियो ।

पाँचवटा डिब्बासहितको यो रेलमा एकपटकमा १३ सय जनाले यात्रा गर्न सक्छन् । विभागले भ्याटबाहेक ८६ करोडमा दुई वटा रेल भारतीय कम्पनीमार्फत खरिद गरेको हो ।