१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाली दुताबास लण्डनले मनायो संविधान दिवस (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
५ आश्विन २०७७, सोमबार १४:०५

लण्डन । नेपाली दुताबास लण्डनले नेपालको राष्ट्रिय दिवस एवं पाँचौं संविधान दिवस त्रिदिवसीय कार्यक्रमका साथ मनाएको छ ।

सो कार्यक्रमको पहिलो दिन शुक्रबार दुताबास र युके नेपाल ट्रेड एण्ड इन्भेष्टमेण्ट फोरमको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट नेपाल विकास सम्मेलन गरिएको थियो । उक्त सम्मेलनमा नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, बेलायती संसदमा नेपालसम्बन्धी सर्वदलीय समूहका उपाध्यक्ष तथा युके नेपाल ट्रेड एण्ड इन्भेष्टमेण्ट फोरमका अध्यक्ष लर्ड शेख, युके नेपाल ट्रेड एण्ड इन्भेष्टमेण्ट फोरमका उपाध्यक्ष तथा ब्रिटिश उद्योग परिसंघ (सिबीआइ) का अध्यक्ष लर्ड बिलिमोरिया, संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा। दुर्गा बहादुर सुवेदी, नेपालका लागि संयुक्त अधिराज्यकी राजदूत निकोला पोलिट र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सम्बोधन गर्नुभएको थियो ।

युके नेपाल ट्रेड एण्ड इन्भेष्टमेण्ट फोरमका महासचिव आतम सान्धुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरुले नेपालमा लगानीका अवसरहरुको बारेमा जानकारी दिंदै व्यापार तथा लगानी प्रवर्द्धनका लागि बेलायतका व्यवसायी एवं लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको थियो ।

सोही दिन बेलायतमा रहनुभएका वरिष्ठ कलाकार पिंकी सिंहका नेपालका आकर्षक पर्यटकीय स्थलहरु एवं नेपालको मौलिक कला संस्कृति झल्काउने ३० वटा उत्कृष्ट कला कृतिहरुको संगालो ‘नेपाली कला संग्रहस् नेपाल यात्रा’ विषयक कला प्रदर्शनीको उद्घाटन राजदूत डा। सुवेदीले गर्नुभयो । उक्त कला प्रदर्शनी असोज २ देखि ८ गतेसम्म राजदूतावासमा सञ्चालन हुनेछ ।

राष्ट्रिय दिवस तथा पाँचौं संविधान दिवसको अवसरमा शनिबार राजदूतावासमा एक राष्ट्रिय दिवस विशेष समारोह एवं संगीत महोत्सवको आयोजना गरिएको थियो । महामहिम राजदूत डा। दुर्गा बहादुर सुवेदीद्वारा राष्ट्रिय झण्डाको झण्डोत्तोलनपश्चात् उपस्थित सम्पूर्ण आगन्तुकलाई स्वागत गर्दै राष्ट्रिय दिवसको उपलक्ष्यमा संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई राजदूतावासको तर्फबाट शुभकामना व्यक्त गर्दै सुख, शान्ति र समृद्दिको कामना गर्नुभयो ।

शुभकामनाका क्रममा उहाँले सम्माननीय राष्ट्रपति एवं सम्माननीय प्रधानमन्त्रीज्यूको शुभकामना सन्देश सुनाउनुभएको थियो। कार्यक्रममा साहित्यकार डा। दुबसु क्षेत्रीद्वारा संकलित गीतहरुका चारवटा गीति एल्बमहरु एवं उहाँद्वारा सम्पादित कथासंग्रह ‘बेलायतमा नेपाली कथा’ को लोकार्पण गरिएको थियो। बेलायतमा बसोबास गर्ने लोकप्रिय नेपाली कलाकारहरुले कार्यक्रमका दौरान डा। क्षेत्रीद्वारा रचना गरिएका सुमधुर नेपाली गीतहरु प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सैनिक सहचारी कुमारबहादुर थापा, अन्य कूटनीतिक कर्मचारी तथा परिवारहरु र बेलायतमा रहेका केही नेपाली कलाकारहरुको उपस्थिति रहेको थियो ।

 

त्यसैगरी तेश्रो दिन अर्थात् आज यस राजदूतावासले नेपाल आयरल्याण्ड सोसाइटी एवं आयरल्याण्ड नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा भर्चुअल माध्यमबाट राष्ट्रिय दिवस एवं नेपाल विकास सम्मेलन सम्पन्न गरेको छ। उक्त सम्मेलनमा आयरल्याण्ड र नेपालबीच शिक्षा क्षेत्रमा भइरहेको तथा हुनसक्ने सहकार्य, लगानी प्रवर्द्धन तथा पर्यटन अभिवृद्धिका अवसरहरुका बारेमा वृहत् छलफल भएको थियो।