१६ बैशाख २०८१, आईतवार
Follow Us

राजधानी र नामाकरण प्रस्तावबारे प्रदेश पाँचमा आजदेखि छलफल

नेपालब्रिटेन संवाददाता
१९ आश्विन २०७७, सोमबार ०४:३६

काठमाडौं । प्रदेश पाँचको राजधानी सार्ने र नामाकरणसम्बन्धी प्रस्तावमा आजदेखि प्रदेश सभामा छलफल सुरु हुँदैछ । प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको प्रस्तावमा आजबाट सांसदहरुले धारणा राख्ने क्रम सुरु हुन लागेको हो ।

सांसदहरुले धारणा राखिसकेपछि सरकारले पेश गरेको प्रस्ताव निर्णयार्थ पेश हुनेछ । मंगलबारसम्म छलफल चलाएर बुधबार प्रस्ताव निणयार्थ प्रस्तुत गर्ने तयारी प्रदेश सभाको छ । शुक्रबार प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेश भएको थियो ।

प्रस्ताव पास हुनका लागि प्रदेशसभामा रहेका ८७ जना सांसदमध्ये ५८ जनाको मत चाहिन्छ । ६१ सांसद रहेको नेकपाका सबै सांसदले सरकारको प्रस्तावमा मतदान गरेमा राजधानी दाङ कायम हुनेछ । कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् ।

स्थायी राजधानीको विषयलाई लिएर प्रतिपक्षी नेपाली काग्रेस सडक आन्दोलनमा छ भने रुपन्देहीका व्यवसायिक संघसंस्था समेत आन्दोलनमा उत्रेका छन् । आज संयुक्त संघर्ष समिति र कांग्रेसले संसद भवन घेराउको कार्यक्रम राखेका छन् ।