१६ बैशाख २०८१, आईतवार
Follow Us

ट्रम्पद्वारा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन

नेपालब्रिटेन संवाददाता
१९ आश्विन २०७७, सोमबार ०४:३८

न्यूयोर्क । कोरोना भाइरस संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेका छन् । ट्रम्पको सो कार्य विवादित भएको छ भने कोरोना भाइरस संक्रमणलाई बेवास्ता गरेको भन्दै आलोचना पनि भएको छ ।

ट्रम्पले गुप्तचर सेवाको गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेका हुन् । गाडीमा रहेका उनले मास्क मात्रै लगाएका थिए । गाडी चलाउनेहरुको सुरक्षा तथा कोरोना भाइरसबाट संक्रमित भएको व्यक्ति बाहिर आउनु उपयुक्त नरहेको भनी उनको गतिविधिको भने आलोचना भएको छ ।

ह्वाइट हाउसले भने चिकित्सकहरुको वीकृतिमा राष्ट्रपति ट्रम्प केहीबेरका लागि गाडीमा बाहिर निस्किएको बताएको छ । कोरोना भाइरसलाई गम्भीर रुपमा नलिएको भन्दै ट्रम्पको आलोचना हुने गरेको छ ।

तर उनले भने एउटा भिडियो सन्देशमा आफूले भाइरसबारे धेरै थाहा पाएको बताएका छन् । ट्रम्पलाई रेमडेसिभिरसहितका औषधि दिइएको तथा अक्सिजन लेभल पनि कम भएको बताइएको छ । ट्रम्पलाई कम्तीमा एकपटक अक्सिजनको सपोर्ट दिइएको चिकित्सकहरुले बताएका छन् ।

उनलाई संक्रमित भइ गम्भीर स्वास्थ्य अवस्था भएका बिरामीलाई दिने स्टेरोइड पनि दिइएको छ । चिकित्कसहरुले ट्रम्पको स्वास्थ्य सुधारको क्रममा रहेको र सम्भवतः सोमबार डिस्चार्ज हुन सक्ने बताएका छन् ।