२३ बैशाख २०८१, आईतवार
Follow Us

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

नेपालब्रिटेन संवाददाता
७ कार्तिक २०७७, शुक्रबार १२:०८

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतद्वारा अस्वीकृत भएको छ । आज बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक सीता नेपालीले संसदीय दलका नेताविरुद्धको अविश्वासको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।

बैठकमा उपस्थित १८ जना संसदहरुले अविश्वासको प्रस्तावविरुद्ध मत हालेका हुन । नेकपा कर्णाली प्रदेशको संसदीय दलमा ३३ जना सांसद छन । ति मध्ये पूर्व माओवादी केन्द्रका १० जना र पार्टीका वरिष्ठ नेता माधव नेपाल समूहका आठ जना सांसद बैठकमा उपस्थित थिए ।

सुर्खेतमै रहेर पनि कँडेल समूहबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा लागयतका नेता भने बैठकमा उपस्थित भएनन् ।

यस्तै अविश्वासको प्रस्ताव दर्ता गराएका प्रधानमन्त्री केपी शर्मा ओली पक्षका यामलाल कँडेल, मीनासिंह रखाल, दानसिंह परियार, पदमबहादुर रोकाया लगायतका नेता समेत बैठकमा सहभागी थिएनन् ।

दाहाल समूहका ठम्मरबहादुर बिष्ट, धर्मराज रेग्मी र पुष्पा घर्ती पनि बैठकमा उपस्थित नभएको बताइएको छ । असोज २५ गते सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले संसदीय दलका नेता एवम् मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।