२३ बैशाख २०८१, आईतवार
Follow Us

स्वास्थ्यमन्त्रीलाई अदालतको अवहेलना आरोपमा कारबाही किन नगर्ने ?

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०७७, बिहीबार ११:४०

काठमाडौ । सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग गरेको छ । सबै नागरिकलाई कोरोनाको परीक्षण र संक्रमितलाई निःशुल्क उपचार गर्नु भनी दिएको आदेश कार्यान्वयन नभएको सन्दर्भमा परेको रिटमा सुनवाई गर्दै सर्वोच्चले जवाफ माग गरेको हो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ? नगर्ने भए एक साताभित्र लिखित जवाफ दिनु भनी आदेश गरेको हो । आदेशसँगै स्वास्थ्यमन्त्री ढकालले आफू स्वयं वा आफ्नो कानुन व्यवसायीमार्फत अदालतलाई लिखित जवाफ दिनुपर्नेछ ।

गत असोज १५ गते सर्वोच्च अदालतले सरकारलाई कोरोना संक्रमितको निःशुल्क उपचार गर्न आदेश दिएको थियो । त्यो आदेशविरुद्ध सरकारले केही निश्चित वर्गबाहेक अरुको हकमा शुल्क लिने निर्णय गरेको थियो । शुल्क लिने निर्णय बिरुद्ध सरकारले अदालतको अवहेलना गरेको भन्दै भन्दै अधिवक्ताहरु केशरजंग केसी र लोकेन्द्र ओलीले सर्वोच्चमा अदालतको अवेहलना निवेदन दर्ता गरेका थिए ।