२० बैशाख २०८१, बिहीबार
Follow Us

अध्यक्ष दाहालले बोलाए सचिवालयको अनौपचारिक बैठक

नेपालब्रिटेन संवाददाता
२१ कार्तिक २०७७, शुक्रबार ०८:२४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद बढिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् ।

दाहालले शुक्रबार ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा छलफलका लागि सचिवालयको अनौपचारिक बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएका हुन् ।

पछिल्लो समय दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउनको लागि दबाब दिइरहेका थिए । तर ओलीले भने सचिवालय बैठकको आवश्यकता नरहेको भन्दै टार्दै आएका थिए । बिहीबार मात्रै दुई अध्यक्षबीच छलफल भएको थियो । सो छलफलमा समेत प्रचण्ड सबै कुरा सचिवालयमा गरौं भन्दा ओलीले नमानेको बताइन्छ ।