२२ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान, गम्भीर निर्णय हुनसक्ने

नेपालब्रिटेन संवाददाता
३ मंसिर २०७७, बुधबार ०४:४९

काठमाडौं स् नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ । गत शुक्रबार सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचनामा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पेजको प्रस्ताव पेश गरेका थिए ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच विवाद बढ्दै जाँदा आजका लागि बोलाइएको पार्टीको सचिवालय बैठक अन्योलमा परेको छ । आज एक बजे बैठक बोलाउने सहमति भएकै समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएपछि बैठक बस्ने नबस्ने थप अन्योल भएको हो ।

प्रधानमन्त्री ओली आज सचिवालय बैठक सार्ने पक्षमा छन् । तर दाहाल सहितका पाँच जना सचिवालय सदस्य आज जसरी पनि बैठक गर्ने तयारीमा छन् । गत कात्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकले आजै दिउँसो १ बजे अर्को बैठक राख्ने निर्णय गरेको थियो । तर ठीक त्यही दिन र समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक राख्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले यसअघिदेखि नै आजका लागि तोकिएको सचिवायल बैठक सार्नुपर्ने अडान लिइरहेका छन् । महासचिव विष्णु पौडेलमार्फत ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई सचिवालयमा पेश भएको आफूविरुद्धको प्रस्ताव फिर्ता लिन र बुधबारको बैठक सार्न आग्रह गरेका थिए ।

तर दाहाललले सचिवालय बैठक बुधबारै राख्नुपर्ने अडान दोहोर्‍याएका थिए । सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री ओली निकट नेताहरूको बैठकले सचिवालय बैठक तत्काल बस्न नहुने निष्कर्ष निकालेको थियो ।