१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘बीबीसी मास्टर सेफको सेमिफाइनलमा सन्तोष शाह’ (भिडियो)

नेपालब्रिटेन डट कम्
५ मंसिर २०७७, शुक्रबार १८:४५

लण्डन । बेलायत स्थित मास्टरसेफ यूके प्रोफेस्नल्समा नेपालका सन्तोष शाहले उत्कृष्ट प्रदर्शन गरेका छन् । सेमिफाइनलको यात्रा तय गरेका उनी यस प्रतियोगीतामा उत्कृष्ट हुने एक मात्र एसियन नागरिक समेत बन्न सफल भएका छन् ।
मिचेलिनमा रहेका रेष्टुरेन्टहरुमा काम गर्दै लण्डनका विभिन्न सेफहरु सँग सीप सिकेका सन्तोषले अत्यन्तै कडा प्रतिस्पर्धा मानिएको मास्टरसेफ प्रोफेस्नल्स यूकेको यात्रा तय गरेका हुन् । उनी सेमी फाइनलमा पुगेका छन् ।
क्वार्टर फाइनलमा उनको पाक–कलाले उत्कृष्ट मान्यता पाउँदै सेमि फाइनलमा पुगेका प्रतिस्पर्धीहरु सँग यसै हप्ता प्रतिस्पर्धा गर्ने भएका छन् । यस राउण्डमा प्रतियोगीलाई अत्यन्तै कडा चापमा सेवा प्रवाह गर्नुपर्ने हुन्छ । त्यतिमात्र नभएर आफ्नो सबैभन्दा राम्रो सीप प्रदर्शन गर्नुपर्ने कुरा त छँदैछ ।

क्वार्टरफाइनलमा सन्तोषले भगवा केक अर्थात स्याफ्रोन सहितको लोब्टर बनाएका थिए ।जसमा कागती, टमाटो सस, ओयस्टर टेम्पुरा, समुद्री तरकारी र एभोकाडो समेत प्रयोग गरिएको थियो ।
सन्तोषले तयार गरेका पाकवानहरुमा अक्टोपस, भेडा र नेपाली बोकाको मासुको करीको स्वाद थियो । उनी यूकेमा रहेका भारतीय रेष्टुरेन्टमा पहिलो पटक अक्टोपसको परिकार बनाउने व्यक्ति समेत बन्न सफल भएका छन् ।

“तपाईले यूकेको किचनमा नेपाल ल्याउनुभयो,” निर्णायक समेत रहेका अँग्रेज सेफ मार्कस वारिङ्गले भने, “रँग र मिठास, एकदम राम्रो छ,तपाई आफै स्वाद लिन सक्नुहुन्छ ।”
अर्की निर्णायक तथा न्यूजिल्याण्डर समोन सेफ मोनिका गलेटीले सन्तेषले यस प्रतियोगीतामा १ सय माइल प्रतिघण्टा दौडिरहेको भन्दै उनले अझै धेरै गर्न बाँकी रहेको बताइन् । “आइ लव दिस म्यान्स फुड, मैले सन्तोषको खाना सारै मन पराउँछु” उनले भनिन् ।

सन्तोषले मिचेलिन आधारीत सेफहरुसँग काम गरे । उनले बेलायतमा मात्रै १२ बर्षदेखी काम गरिरहेका छन् । उनले आफु १४ बर्षको कलिलो उमेरमा भारतबाट किचनको यात्रा शुरु गरेका हुन् । उनले भने, “म आफु आत्मनिर्भर छु र सानै उमेर देखि नै कडा मिहेनत गरिरहेको छु, हाल आफुले खोजेजस्तै आम्दानी भइरहेको मलाई लागेको छ, मैले यसमा अझ धेरै सपनाहरु पुरा गर्नुपर्ने छ र मास्टरसेफ यूके ती सपनाहरु मध्येको एक कोषेढुँगा हो।”

क्वार्टर फाइनलमा राम्रो प्रदर्शन गरेका उनले अबको यात्रामा कस्तो पाकवान दिन्छन भन्ने कुराको चासो सबैसामू रहेको छ ।

“मलाई लाग्छ सबै सेफहरुले मास्टरसेफमा पुग्ने सपना बुनेका हुन्छन, र म पनि यही यात्रामा छु, यो अत्यन्तै उत्साहजनक छ र अलिअलि तनाव पनि।” उनले यो काम भने आफ्नो देश नेपालको लागि पनि गरेको सुनाए।