३० बैशाख २०८१, आईतवार
Follow Us

इस्लामिक चरमपन्थीद्वारा नाइजरमा ७९ जनाको हत्या

नेपालब्रिटेन संवाददाता
१९ पुष २०७७, आईतवार ०४:३५

लन्डन । नाइजरमा इस्लामिक चरमपन्थीले मालीको सीमा नजिक एक गाउँमा आक्रमण गरी ७९ जनाको हत्या गरेका छन् । आक्रमणमा १७ जना घाइते भएका छन् ।

दक्षिणी सीमामा रहेको जारोमदारयमा ३० र टेचोम्बाङगुमा ४९ जना मारिएका हुन् । घटनाबारे नाइजर सरकारले कुनै प्रतिक्रिया दिएको छैन । नाइजरमा अलकायदा र इस्लामिक स्टेटसम्बद्ध चरमपन्थीले आक्रमण गर्दै आएका छन् ।

नाइजरका आन्तरिक मन्त्री अलकाचे अलहादाले घटनाले देश मर्माहत भएको बताएका छन् । हत्या भएको स्थानमा सेना परिचालन गरिएको छ । अफ्रिकी मुलुकमा केही समय यता लडाकु समुहले हिसात्मक गतिविधि बढाउँदै लगेका छन् ।

गत साता नाइजेरियामा लडाकु समुह बोको हरामको आक्रमणमा २७ जना मारिएका थिए । मालीमा अलकायदाले गरेको आतंकबादी आक्रमणमा आफ्ना दुई जना फ्रान्सेली सुरक्षाकर्मी मारिएको थिए ।

पश्चिम अफ्रिकी क्षेत्रमा इस्लामिक लडाकुविरुद्ध पश्चिम अफ्रिकी र यूरोपेली गठनबन्धनका सेनाले कारबाही अभियान चलाइरहेको छ ।