काठमाडौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा मात्र नभएर संविधान नै विघटनको अवस्थामा पु¥याएको आरोप लगाएका छन । शुक्रबार संसद विघटनको विरुद्धमा काठमाडौंको शान्तिवाटिकामा आयोजित सभालाई सम्बोधन गर्दै उनले संसद बिघटन गरेर संविधानलाई नै असफल बनाउने प्रयास सरकारले गरेको बताएका हुन ।
संविधानलाई गतिशील बनाउन अदालतको कल्पना गरिएको स्मरण गर्दै नेता सिटौलाले अदालतलाई क्षमता प्रकट गरेर संविधानको रक्षा गर्दै जनविश्वास बटुल्ने अवसर प्राप्त भएको पनि उल्लेख गरे ।
कांग्रेस नेता गगन थापाले संसद विघटनपछि सत्ताको लोभमा लाग्ने नेताहरुलाई लड्डु कांग्रेसको संज्ञा दिए । त्यस्तै नेताका कारण कांग्रेसमाथि प्रश्न उठेको उनको भनाइ छ । संविधानको पक्षमा सर्वोच्चमाथि टिप्पणी गर्दा अन्यथा लिन नहुने नेता थापाले बताए ।
सभामा सहभागी अन्य नेताहरुले संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने व्यवस्था नै नगरेको तर्क गरे । प्रतिनिधि सभा विघटन गरेर संसदीय राजनीतिक प्रणालीमाथि हस्तक्षेप गरेको भन्दै काठमाडौ क्षेत्र नम्बर छ ले विरोध सभा गरेको हो ।