२४ असार २०८१, आईतवार
Follow Us

बेलायतमा एक करोड २२ लाख बढीले लगाए खोप, मृतक संख्यामा कमी

नेपालब्रिटेन डट कम्
२७ माघ २०७७, मंगलवार ०२:४१

लन्डन । बेलायतमा कोरोना संक्रमणको दर केहि दिनयता लागातार ओरालो लाग्दै गएको छ । कोरोना संक्रमित र मृतक संख्यामा पछिल्ला दिनमा एकमहिनायताकै कमी भएको हो ।

पछिल्लो २४ घन्टामा थप ३३३ जनाको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख १२ हजार ७९८ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी दिएको छ।

यसैगरी पछिल्लो २४ घन्टामाभित्र थप १४ हजार १०४ जना नयां संक्रमित थपिएका छन् । नयां थपिएका संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ५९ हजार ७८४ पुगेको छ ।

संक्रमित संख्यामा पनि अघिल्लो दिनको तुलनमा कमी आएको हो । बेलायतमा कोरोना संक्रमण दर पछिल्लो समयमा केहि कम भएको तथ्याँकले देखाएको छ । बेलायतका अस्पतालमा भर्ना हुने कोरोना संक्रमितको संख्यामा कमी आएको स्वास्थ्य विभागको जनाएको छ ।

फेब्रुअरी ४ सम्मको तथ्याँक अनुसार बेलायतका अस्पतालमा २९ हजार ३२६ जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ५०५ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् ।

बेलायतमा एक करोड २२ लाख बढीले लगाए खोप

सोमबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा एक करोड २२ लाख भन्दा बढीले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् ।
डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म एक करोड २२ लाख ९४ हजार ६ जनाले खोपको पहिलो डोज लिएका हुन् ।
जसमध्ये पांच लाख १२ हजार ५८१ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।