११ श्रावण २०८१, शुक्रबार
Follow Us

कोभिशिल्डको दोस्रो मात्रा लगाउँदा ८२ दशमलव ४५ प्रतिशत प्रभावकारी

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७७, सोमबार ०७:३२

लण्डन । बेलायतको अक्सफोर्ड र एस्ट्राजेनेकाको खोप कोभिशिल्डको भ्याक्सिन दोस्रो मात्रा लगाउँदा १२ साता वा सो भन्दा बढी अन्तरालमा लगाउँदा ८२ दशमलव ४५ प्रतिशत प्रभावकारी पाइएको एक अध्ययनले देखाएको छ । ल्यान्सेटमा प्रकाशित अध्ययन रिपोर्ट अनुसार ६ साताभन्दा कम अन्तरमा लगाउँदा ५४ दशमलव ९५ प्रभावकारी देखिएको छ भने १२ साता वा बढीको अन्तरालमा लगाउँदा ८२ दशमलव ४५ प्रभावकारी देखिएको उल्लेख छ ।

त्यस्तै पहिलो डोज खोप लगाएका व्यक्तिमा ३ महिनासम्म कोरोना संक्रमण सर्ने सम्भावना ६७ दशमलव ५ प्रतिशत कम हुने र ३ महिनामा दोस्रो मात्रा लगाउँदा संक्रमण नसर्ने सम्भावना ८२ दशमलव ४५ हुने रिपोर्टमा उल्लेख छ । यस्तै पहिलो खोप लगाएको २२ दिनपछि संक्रमण भएमा संक्रमित व्यक्ति गम्भीर हुने तथा अस्पताल भर्ना हुनुपर्ने सम्भावना कम हुने जनाइएको छ । त्यस्तै ३ साता पहिले दोस्रो मात्रा लगाएमा त्यसको ४ हप्तापछि तेस्रो मात्रा लगाउनुपर्ने अर्को एक अध्ययनले देखाएको छ । यद्यपी अहिलेसम्म भएका अधिकांश अध्ययनले कोभिशिल्ड खोपको दोस्रो मात्रा ४ देखि १२ सातासम्म लगाउनु उपयुक्त हुने बताउँदै आएका छन् ।

कतिपय अध्येताले खोपको अभाव भएको हुँदा दोस्रो मात्राको अवधि बढाउन खोजेको तथा ३–३ महिनामा खोप लगाउनुपर्ने अवस्था सिर्जना गर्न खोजेको आरोप समेत लगाएका छन् । विश्व स्वास्थ्य संगठनले पनि लामो अन्तरालमा खोप लगाउनुको कुनै विशिष्ट कारण नभएको स्पष्ट पारेको छ ।

नेपालमा हाल प्रयोग भइरहेको यो खोपको सामान्य बाहेक गम्भीर खाले जोखिम भने देखा नपरेको जनस्वास्थ्यविद् रविन्द्र समीर बताउनुहुन्छ ।