११ जेष्ठ २०८१, शुक्रबार
Follow Us

नक्कली बिजक प्रयोग गरि एक अर्बको राजश्व छली

नेपालब्रिटेन संवाददाता
५ फाल्गुन २०७७, बुधबार ०४:४९

काठमाडौं । झुटा तथा नक्कली बिजक प्रयोग गरि मिलेमतोमा झण्डै रु एक अर्ब बराबरको राजस्व छली गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा ती व्यक्तिले विभिन्न ११ वटा फर्मको बैंक खाता सञ्चान गरी राजस्व छली गरेका हुन् । उनीहरूले वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर(भ्याट)को बिजक मात्र किनेर मूल्य अभिवृद्धि कर र आयकर छली गरेका विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो ।

उक्त आर्थिक अपराधमा सर्लाहीको बलरा नगरपालिका–७ बस्ने मुख्य अभियुक्त सुबोध साहसहित १० र उनीहरूको मतियारको रुपमा अन्य तीन गरी १३ को संलग्नता रहेको विभागले जनाएको छ । उनीहरूले रु ९१ करोड ३० लाख ५६ हजार बिगो बराबरको राजस्व छली गरेको विभागले आरोप लगाएको छ ।

उक्त घटनामा अनुसन्धान सकी बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबीसहित हिजो उच्च अदालत पाटनमा मुद्दा दायर गरेको महानिर्देशक मैनालीले जानकारी दिनुभयो ।

मुख्य प्रतिवादी सुबोध साहसमेतले कर बिजकको कारोवार गर्ने सुरेन्द्र सहनी, सरोजकुमार मिश्र, कलिम अन्सारी, अवधेश पटेल, सुमनकुमार महतो, राजेश्वर महतो, इदा खातुन, हरिन्द्र राम र मोतीलाल सहनीसमेतको मिलेमतोमा ११ वटा फर्म खडा गरी वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि करको बिजकमात्र किनेर मूल्य अभिवृद्धि कर र आयकरसमेत चुहावट गरेको विभागको अनुसन्धानमा खुलेको छ ।