१९ बैशाख २०८१, बुधबार
Follow Us

सभामुखविरुद्धको द्वन्दकालीन मुद्दा संवैधानिक इजलासमा

नेपालब्रिटेन संवाददाता
८ बैशाख २०७८, बुधबार ०६:४४

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दाको पेसी सर्वोच्च अदालतको संवैधानिक इजलासमा चढेको छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् । नियमित पेसीमा चढे पनि १३औं नम्बरमा छ ।

यसअघि पटक–पटक सुनुवाइको पेसी तोकिएको यो मुद्दा आज सर्वोच्च अदालतको नियमित पेसीमा राखिएको छ । जनयुद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सपकोटाविरुद्ध २०६८ सालमा मुद्दा परेको थियो ।

अर्जुनकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए । उनलाई सभामुख बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपतिका राजनीतिक मामिलाविज्ञ सुशील प्याकुरेलल राजीनामा दिएका थिए।