२७ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाललाई अक्सिजन उपलब्ध गराउन माग गर्दै बेलायती विदेश मन्त्रीलाई पत्र

नेपालब्रिटेन डट कम्
५ जेष्ठ २०७८, बुधबार १५:३३

लन्डन । विभिन्न क्षेत्रमा चर्चित ५० बढी सुपरिचित बेलायती व्यक्तित्वहरुले बेलायत सरकारलाई नेपालमा अक्सिजन लगायत अत्यावश्यक सामग्री उपलब्ध गराउन माग गरेका छन् ।

चर्चित अभिनेत्री जोआना लम्लीसहित बेलायती वैज्ञानिक, प्राज्ञिक व्यक्तित्व, आरोही, गोर्खा र नेपालका निकट मित्रहरुले बेलायती विदेश मन्त्री डोमिनिक राबलाई एक खुल्ला पत्र लेख्दै कोभिड १९ का कारण स्वास्थ्य संकट झेलिरहेको नेपालमा अक्सिजनसहित आपत्कालिन औषधि सहयोग गर्न माग गरेका हुन् ।

अभिनेत्री लम्ली, सर माइकल पालिन, सर क्रिस बोनिंगटन, ब्रिटिश जनस्वास्थ्य विज्ञ तथा खोप अनुसन्धाता सर जेरेमी फरार, सराह गिल्बर्ट, एन्ड्रियू पोलार्ड, निकोलस हवाइट, एड्रियन हिल, पिटर होर्बी, फिलिप गुरिन, एलेन टाउनसेन्ड, स्याण्डी डगलस, पांच जिवित भिसी विजेतामध्ये एक क्याप्टेन रामबहादुर लिम्बु लगायतले चेन्जडट ओआर्जी अनलाइन अभियानमार्फत नेपाललाई तत्काल सहयोग गर्न ब्रिटिश सरकार लाई अपिल गरेका छन् ।

गोर्खा वेलफेयर ट्रस्टका अध्यक्ष जनरल साम कोवनले भने, “गोर्खा भर्ती मार्फत नेपालसंग हाम्रो २०० वर्ष भन्दा पुरानो सम्बन्ध रहेको छ । म ब्रिटेनलाई नेपालीहरुको पीडा कम गर्न अगाडी सर्न अपिल गर्दछु। हामी संग धेरै समय छैन । ”

पर्वतारोही, ब्रोडकास्टर्स, फिल्म निर्माता, सैनिक, लेखक र प्राध्यापकहरु पनि अभियानमा जोडिएका छन् । हस्ताक्षरकर्ताहरुले ब्रिटिश सरकारलाई तत्काल अतिआवश्यक अक्सिजन सामग्री र अन्य औषधि सहयोग गर्न अपिल गरेका छन् । “बेलायत र नेपालबीच शताब्दीऔं लामो पृथक र पुरानो सम्बन्ध छ । हामी पुरानो मित्रराष्ट्रको दुःखमा एकसाथ हुने बेला आएको छ,” पत्रमा भनिएको छ ।

सर क्रिस बोनिंगटनले भनेका छन्, “म आफैंले देखेको छु कि नेपालको पहाडी भेगबाट आएका नेपालीले ब्रिटेनका लागि वर्षौंदेखि कति योगदान गरेका छन् भनेर । मलाई आशा छ नेपालीको दुःखमा बेलायत सरकारले सहयोग गर्ने छ ।”

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्य सुवेदीले भने, ” नेपाल परम्परागत रुपमै ब्रिटेनको सहयोगी मुलुक हो । नेपालले अभूतपूर्व संकट व्यहोरीरहेको यो बेला बेलायतले हरसम्भव सक्दो मदत गर्ने छ भन्ने मैले विश्वास लिएको छु । ”

संयुक्त राष्ट्रसंघका अनुसार करिब २ करोड ९० लाख जनसंख्या भएको नेपालमा कोभिड १९ संक्रमणदर अहिले अप्रत्यासित रुपमा बढेको छ र भाइरसको संक्रमण विश्वमै उच्च छ ।

कमजोर स्वास्थ्य प्रणालीले नेपाल अहिले स्वास्थ्यको चरम संकटमा छ । अस्पतालका बेडहरु भरिएका छन् भने मानिस अक्सिजन अभावका अकालमै मरिरहेका छन् ।

उक्त अपिलमा समर्थन जनाउन इच्छुकहरुले यो लिंकमा गएर हस्ताक्षर गर्न सक्ने जनाइएको छ ।