२३ बैशाख २०८१, आईतवार
Follow Us

दैनिक ६४ आन्तरिक उडान, ९ कम्पनीबाट अन्तराष्ट्रिय उडान

नेपालब्रिटेन संवाददाता
१४ असार २०७८, सोमबार ०४:४३

काठमाडौं । कोरोना महामारीका कारण जारी निषेधाज्ञासँगै बन्द भएको आन्तरिक हवाई उडान बिहीबारदेखि पुनः शुरु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा आन्तरिक उडान गर्ने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

सरकारले कुल उडान क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाइ उडान गर्न अनुमति दिएसंगै प्राधिकरणले बिहीबारबाट बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आन्तरिक हवाई उडान सुरु गर्न लागेको हो । नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार उडान भर्नेमध्ये बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअरले सात, सौर्य एअरले तीन, नेपाल एअरले दुई, तारा एअरले दुई, समिट एअरले दुई र सीता एअरले दुई गरी दैनिक ६४ वटा उडान हुने छन ।

यसैगरी पाँच वटा हवाई कम्पनीले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएपनि सरकारले थप चार वटा हवाई कम्पनीलाई अनुमति दिएको छ । अब नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, कतार एअरलाइन्स, टर्किस एअरलाइन्स, जजिरा एअरलाइन्स, फ्लाइ दुवई एअरलाइन्स, सलाम एअरलाइन्स, एअरअरविया र एअरइण्डियाले नेपालका लागि अन्तर्राष्ट्रिय उडान गर्ने भएका छन । दोहा, जापान, दुबई, ओमान, कुवेत लगायतका गन्तव्यमा उडान शुरु भइसकेको छ । उडान सञ्चालन गर्दा जनस्वास्थ्यको मापदण्ड भने पूर्ण रुपमा पालना हुनुपर्ने सर्त प्राधिकरणको छ ।