लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी कार्यकालका लागि महासचिव पदमा इन्जिनियर पुन्य रेग्मी र व्यवसायी दिवाकर पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ।
साउथ–इष्ट लन्डनस्थित नेपाली समुदायको साझा संस्था ‘रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी’का निवर्तमान अध्यक्षसमेत रहेका रेग्मी पेशाले इन्जिनियर हुन्। उनी प्रवासी नेपाली मञ्च यूकेको पूर्व सचिव, यति नेपाली एशोसिएसन यूकेको पूर्व कोषाध्यक्ष, सोसाइटी अफ नेपाली प्रोफेसनल्स यूकेको पूर्व अध्यक्ष तथा विभिन्न सामाजिक संघसंस्थामा सक्रिय रहँदै आएका अनुभवी व्यक्तित्व मानिन्छन्।
दोस्रो प्रतिस्पर्धी दिवाकर पाण्डे हाल एनआरएनए स्कटल्याण्ड राज्य परिषद्का अध्यक्ष हुन्। सन् २०१० मा अध्ययनको सिलसिलामा बेलायत आएका पाण्डेले यहाँ रहँदा विभिन्न संघसंस्थामा सक्रिय भूमिका खेलेका छन्। हालै सम्पन्न पहिलो नेपाली मेलाको आयोजनासमेत पाण्डेले आफ्नै नेतृत्वमा स्कटल्याण्डमा सम्पन्न गराएका थिए।
एनआरएनए यूकेको निर्वाचन यही शनिबार बिहानदेखि अनलाइनमार्फत सञ्चालन हुनेछ। संघको निर्वाचनमा ३५ सयभन्दा बढी मतदाताले भाग लिने अपेक्षा गरिएको छ।