२५ बैशाख २०८१, मंगलवार
Follow Us

ओलीको घोषणापछि एमाले एक रहला ? 

नेपालब्रिटेन संवाददाता
३१ असार २०७८, बिहीबार ०५:५०

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले पार्टी सरकारबाहिर पुगेपछि नेकपा एमालेको विवाद मिल्ने भन्दा झन् पेचिलो बन्ने संकेत देखिएको छ । आफ्नो नेतृत्वमा रहेको सरकार विस्थापन गर्न माधवकुमार नेपालले खेलेको भूमिकाप्रति अध्यक्ष केपी शर्मा ओली कठोर बन्ने संकेत गरेका छन् ।

हिजो निजी निवास बालकोटबाट ओलीले नेपाललाई गद्दार भन्दै पार्टीमा कुनै ठाउँ नभएको घोषणा समेत गरे । पार्टी विवाद मिलाउन गठित कार्यदलले असार २७ गते राति १० बुँदे सहमति गर्दै एमाले विवाद अन्त्य भएको घोषणा गरेको थियो ।

दुवै नेताले प्रतिवेदनबारे औपचारिक धारणा व्यक्त गरेका छैनन् । तर बालुवाटारबाट बालकोट पुगेपछि ओलीले वरिष्ठ नेता नेपालप्रति आक्रामक अभिव्यक्ति दिएका हुन् । यसले परिस्थिति बदलिएको मात्रै होइन ओली पक्षले सम्झौताको औचित्य सकिएको संकेत गरेको छ ।

ओलीले एमालेको सरकार गुम्ने अवस्था निर्माण गर्ने र विकास प्रेमी सरकार ढाल्ने कामको अगुवाइ माधवकुमार नेपालले गरेको आरोप लगाएका छन् । नेपालमाथि ओलीले बिकाउ भएको आरोप लगाए । आफ्नो निवासको बरन्डाबाट ओलीले यो भनिरहँदा कार्यकर्ताले नेपाललाई पार्टीबाट निस्कासन गर्नुपर्ने कालो मोसो लगाउने भन्दै हुटिङ गरिरहेका थिए ।

युवा संघका कार्यकर्ताले बालुवाटारदेखि बालकोटसम्म नेता नेपालविरुद्ध चर्का नाराबाजी मात्र गरेनन्, नेपाल निवासनजिक कोटेश्वरमा पुत्ला समेत जलाए । ओली र उनका कार्यकर्तामा माधव नेपालविरुद्ध आक्रोश चुलिएको छ ।

सडकको नारादेखि सामाजिक सञ्जालसम्म माधवकुमार नेपाल तारो बनेका छन् । त्यसैले ओलीको अभिव्यक्ति र कार्यकर्ताको व्यवहारले एमाले विवाद अब सुल्झिने होइन, थप बल्झिने प्रष्ट देखिन्छ । र, संभवतः यो फुटको नयाँ रिहर्सल हुनसक्छ ।