२६ पुष २०८२, शनिबार
Follow Us

इजरायल जाने केयरगिभरका लागि परीक्षा तोकियो

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०७८, मंगलवार ०६:०९

काठमाडौं । रोजगारीका लागि इजरायल जाने ‘केयरगिभर’का लागि भाषा परीक्षा भदौ अन्तिम साता हुने भएको छ । आवेदन दिई वैदेशिक रोजगार विभागबाट स्वीकृत भएकाहरूको भदौ २८ गते अंग्रेजी भाषाको लिखित परीक्षा हुने वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताए ।

काठमाडौंको विभिन्न परीक्षा केन्द्रमा दिउँसो १ बजे गर्ने गरी तालिका बनाइएको सुनुवारले जानकारी दिए । उनका अनुसार, परीक्षा भौतिक उपस्थितिमै हुनेछ ।

परीक्षा केन्द्रबारे प्रवेशपत्र र विभागको वेबसाइट https://dofe.gov.np मार्फत जानकारी गराइने उल्लेख छ । प्रवेशपत्र भने अनलाइनमार्फत उपलव्ध गराउने विभागको भनाइ छ ।

इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नु पर्ने उल्लेख गरिएको छ। भिसा, टिकटलगायत खर्च करिब एक लाख ६५ हजार लाग्ने अनुमान विभागको छ।

अहिले सरकारले पठाउन लागेका केयरगिभर घरका लागि नभएर संस्थाका लागि भएको विभागले बताएको छ। विभागकाअनुसार नर्सिङ होम तथा केयर होमलगायत संस्थामा उनीहरूले रोजगारी पाउने छन्। भिसा अवधि पाँच वर्षको रहेको छ ।

धेरै पढिएको