मुम्बई । बलिउड अभिनेत्री आलिया भट्टको एकपछि अर्को गर्दै नयाँ नयाँ फिल्म आईरहेका छन् । यो वर्ष सबैभन्दा बढी हिन्दी फिल्म दिने नायिकाको सुचीमा अभिनेत्री आलिया पहिलो स्थानमा छिन् ।
दुई साता अघि मात्र यी अभिनेत्रीको नयाँ फिल्म गँगुबाई काठियावाला रिलिज भएको थियो । यिनै अभिनेत्रीको तीन दिन यताबाट अहिलेसम्मकै सबैभन्दा बढी बजेटको फिल्म आरआरआर प्रदर्शन भईरहेको छ । यस फिल्ममा आलिया ‘सीता’ को भूमिकामा प्रस्तुत भएकी छिन् ।
अभिनेत्री आलियाको ठुला बजेटका अरु पाँच ओटा फिल्म प्रदर्शनको तयारीमा छन् । ती सबै फिल्ममा आफ्नो फरक फरक भूमिका भएको यी अभिनेत्रीले बताएकी छिन् ।
हुन पनि बिगतमा उनले फिल्म ‘राजी’को देशभक्त ‘सहमत’ होस् वा फिल्म ‘गली ब्वाय’को बिंदास ‘सफिना’ नै किन नहोस । आलियाले दुवै फरक भूमिकालाई राम्रोसँग निभाएकी थिईन् । सोही कारण उनलाई फरक फरक भूमिकामा निर्देशकले प्रस्तुत गर्दै आएका छन् । आलिया भट्टका अनुसार अब रिलिज हुने बिग बजेटका आधा दर्जन फिल्ममै एकदमै फरक र नयाँ चरित्रमा देखिनेछिन् ।
अभिनेत्री आलिय नयाँ ब्रह्मास्त्रमा रणवीर कपुरको जोडीको रुपमा प्रस्तुत हुँदैछिन् । यो फिल्ममा रणवीर र आलियासँगै अमिताभ बच्चनपनि मुख्य भूमिकामा रहेका छन् । यस्तै अर्को नयाँ फिल्म रकी र रानीको प्रेम कथामा उनी अभिनेता रणवीर सिंहको जोडीको रुपमा रहेकी छिन् । यो फिल्मलाई करण जोहरले निर्देशन गरेका छन् । फिल्ममा धर्मेन्द्र, जया बच्चन र शबाना आजमी सहायक भूमिकामा देखिनेछन् ।
यस्तै अभिनेत्री आलिया भट्ट अर्को फिल्म ‘जी ले जरा’मा पनि मुख्य भूमिकामा छिन् । यो फिल्ममा उनीसँगै प्रियंका चोपडा, कट्रिना कैफ पनि छन् । फरहान अख्तरले निर्देशन गरेको यो फिल्ममा आफु फरक भूमिकामा भएको आलियाको कथन छ ।
आलियाको अर्को कमेडी ड्रामा फिल्म ‘डार्लिङ्स’ हो । यो फिल्ममा आलिया भट्टसँगै शेफाली शाह, विजय वर्मा र रोशन म्याथ्युको मुख्य भूमिका छ । यो फिल्मको निर्माता आलिया पनि हुन् ।
यस्तै आलियाको अर्को नयाँ फिल्म ‘तख्त’ हो । करण जोहरको ड्रीम प्रोजेक्ट फिल्म ‘तख्त’ मा आलिया भट्ट महत्वपूर्ण भूमिकामा देखिनेछिन् । यो फिल्म मल्टिस्टार फिल्म हुनेछ । फिल्म मुगल इतिहासको कथामा आधारित हुने आलियाले बताएकी छिन् । यसरी एक महिना यता दुई वटा फिल्ममार्फत दर्शकमाझ आएकी आलियाका आधा दर्जन यी फिल्महरु आउने तयारीमा छन् ।