ताजा खबर

काठमाडौंको फोहोर लैजान स्थानीयसँग सहमति, शुक्रबारदेखि नै फोहोर बिसर्जन

काठमाडौँ उपत्यकाको फोहोर अबदेखि रातिमात्र व्यवस्थापन गर्न लैजाने गरी काठमाडौं महानगरपालिका र स्थानीयबीच सहमति जुटेको छ।

बिहीबार राति भएको वार्तामा काठमाडौं महानगर र सिसडोल-बन्चरेडाँडाबीच फोहोर उठाउन १८ बुँदे सहमति भएको हाे।

बैठकमा आन्दोलनरत स्थानीयदेखि स्थानीय वडाअध्यक्षहरूको उपस्थितिमा सहमति भएको हो ।

सहमतिसँगै शुक्रबारदेखि नै फोहोर बिसर्जनका लागि जाने गाडीलाई स्थानीयले अवरोध गर्ने छैनन्।

यसअघि त्रिपक्षीय सहमति भएपनि प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए ।

सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका – १ का अध्यक्ष पदमबहादुर श्रेष्‍ठ बलामी, ककनी गाउँपालिका – २ का अध्यक्ष तिलक बहादुर लामा, धुनीबेंसी नगरपालिका – १ अध्यक्ष बहादुर तामाङ र धुनीबेंसी नगरपालिका – ३ का अध्यक्ष प्रकाश हमालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार काठमाडौ महानगरपालिकाबाट बञ्चरेडाँडा कुडुलेसम्म फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीन रुपमा रातिको समयमा गरिने भएको छ।

रातिका लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तथा व्यवस्था महानगरपालिकाले तीन महिना भित्र गर्ने सहमति जुटेको छ।

यस्तै सिसडोल तथा बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने छ।

फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गरिनेछ। फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिना भित्र मिलाउने पनि सहमति भएको छ।

फोहोरमैला प्रभावित क्षेत्रको वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने र अध्ययनले दिएको कार्यहरु कार्यान्वयन गर्न पहल गर्ने पनि सहमति भएको छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्