३ कार्तिक २०८३, सोमबार
Follow Us

दुई लाख राशीको अरनिको अन्तराष्ट्रिय पुरस्कारका लागि दर्खास्त आब्हान

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७९, सोमबार ००:२६

लण्डन । गैरआवासीय नेपाली संघले यस वर्षको अरनिको अन्तराष्ट्रिय पुरस्कारका लागि गैरआवासीय नेपाली लेखकहरुलाई कृति प्रेषित गर्न आव्हान गरेको छ।

दुई लाख रुपैंया धनराशीको यो पुरस्कार प्रवासमा रहेका नेपालीभाषी लेखकहरुका वर्षभरि प्रकाशित कृति मध्ये उत्कृष्ट एक कृतिलाई प्रदान गरिन्छ।

पुरस्कार व्यवस्थापन समितिले जारी गरेको सूचना अनुसार, यस वर्ष विक्रम संवत २०७८ सालमा गैर आवासीय नेपाली लेखकहरुद्वारा प्रकाशित कृति मध्ये उत्कृष्ठ एकलाई पुरस्कृत गरिनेछ। पुरस्कारका लागि अगष्ट महिनाको अन्तिमसम्ममा तीन प्रति कृति समितिमा पठाउन आब्हान गरिएको छ।

प्राप्त कृति र व्यवस्थापन समितिले संकलन गरेका मध्ये उत्कृष्ठ एक कृतिको सेप्टेम्वर महिनामा छनौट गरी पुरस्कार घोषणा गरिने एनआरएनएले जनाएको छ । अक्टुबरमा सो पुरस्कार काठमाडौंमा एक समारोहको आयोजना गरि प्रदान गरिनेछ।

पुरस्कारका लागि नेपाली बाङ्गमयको जुनसुकै विधामा लेखिएका कृति पनि स्वीकार्य हुनेछ। तर त्यस्तो कृति नेपाली भाषामा लेखिएको हुनुपर्नेछ। लेखकले काठमाडौंको बालुवाटारस्थित एनआरएनएको अन्तराष्ट्रिय सचिवालयमा आफ्नो कृति पेश गर्न सक्नेछन्। यसैगरी अमेरिका र युरोपमा पनि कृति संकलन गर्ने व्यवस्था मिलाइएको छ।

नेपाली भाषा,साहित्य, संस्कृति र सम्पदाको अन्तराष्ट्रिय रुपमा जगेर्ना र प्रवर्द्धन गर्ने र प्रवासमा रहेका नेपाली लेखकहरुलाई प्रोत्साहन र सम्मान प्रदान गर्ने उद्देश्यले एनआरएनएले यो पुरस्कार प्रदान गर्ने गरेको जारी सूचनामा उल्लेख छ।

प्रथम गैरआवासीय नेपाली संस्कृति एब सम्पदाविद अरनिकोको सम्मानमा गैरआवासिय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको पहलमा सन २०२१ मा यस पुरस्कारको स्थापना गरिएको समितिका संयोजक हिक्मत थापाले जानकारी दिनुभयो ।

गत वर्षदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलोपटक लेखक एवं समालोचक हरि अधिकारीको हरि अधिकारीका संकलित गध रचनालाई प्रदान गरिएको थियो।

धेरै पढिएको