लण्डन् । वैदेशिक रोजगारीमा गएका कामदारलाई सामाजिक सुरक्षा कोषमा जोड्ने अन्तिम तयारी थालिए पछि गैरआवासीय नेपाली संघले सकरात्मक कदम भनेको छ ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा सामाजिक सुरक्षा कोष कार्यदलका संयोजक डिबी क्षेत्रीले विगत १२ वर्ष देखी गैरआवासीय नेपाली संघले नेपाल सरकारलाई श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्न आग्रह गरेको थियो, अहिले सरकारले काम सुरु गरेको छ, यो निकै सकरात्मक कदम हो ।
सरकारले सामाजिक सुरक्षा कोषले ११ मंसिरदेखि वैदेशिक रोजगारीमा गएका कामदारलाई पनि सामाजिक सुरक्षा कोषमा जोड्ने तयारी गरेको हो । ११ मंसिरलाई ‘सामाजिक सुरक्षा डे’ का रूपमा मनाइँदै आइएको छ । क्षेत्रीले सरकारको पछिल्लो निर्णय गैरआवासीय नेपाली संघको लागि महत्वपूर्ण निर्णय भएको जनाए ।
सरकारले वैदेशिक रोजगारीमा गएका कामदारको सुरक्षाका निम्ति दुईवटा नीति अगाडि सारेको छ । सम्बन्धित मुलुकको सामाजिक सुरक्षा कोषमा नै नेपाली श्रमिकलाई अन्य कामदारसरह नै सुविधा दिएर आबद्ध गराउने सरकारको पहिलो नीति छ । कार्यक्रम सञ्चालन नभएका मुलुकमा गएका कामदारलाई भने नेपालमा नै सञ्चालन भएको सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सरकारको अर्को नीति छ ।
क्षेत्रीले भने “मध्यपूर्व काम गर्ने नेपाली कामदार अत्यन्तै जोखिममा छन् । दिनरात नभनी काम र्गयो, तर घर फर्कँदा हात रित्तो हुन्छ । कमाएको पैसा मासिक रूपमा घरपरिवार धान्नका लागि पठाउँदै ठिक्क हुन्छ । झन् घरमा कमाइ गर्ने व्यक्तिको मृत्यु हुँदा परिवारको बिचल्ली हुने गरेको छ । त्यसैले कामदार कोषमा जोड्नु अत्यावश्यक छ ।”