काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको चुनावको पूर्वसन्ध्यामा कांग्रेस संस्थापन इतर पक्षका उम्मेदवार गगन थापाको निगरानीमा प्रहरी परिचालित गराइएको आरोप लागेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले प्रधानमन्त्री र गृहमन्त्रीको मिलोमोतोमा गगन थापालाई रोक्न खोजेको बताएका छन् ।
कांग्रेस महामन्त्री समेत रहेका थापा बैठकका लागि गएको लाजिम्पाटस्थित एक होटलमा मंगलबार राति निरन्तर निगरानी गरिरहेको शंका लागेपछि समर्थकले दुई जना व्यक्तिलाई घेरेका थिए । त्यसक्रममा दुवै जनाको साथमा नेपाल प्रहरीको परिचय पत्र भेटिएको थापाका समर्थकहरुले बताएका छन् ।

तीमध्ये एक जनाको साथमा नेपाल प्रहरीको कर्मचारी प्रशासन शाखाको परिचय पत्र भेटिएको थापाका सहयोगी सबिन मुडभरीले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् । तीमध्ये एकजना जवान र अर्का प्रहरी नायब निरीक्षक भएको खुलेको छ ।

दुई जनालाई घेरा हालेपछि अन्य केही व्यक्तिहरु भागेको उनले बताए । ‘अपराह्न गगन दाइको गाडीमा पनि एउटै नम्बरको मोटरसाइकलले फलो गरिरहेको थियो’, मुडभरीले थपे, ‘त्यसबेला गाडी रोकेपछि उनीहरु अलमलिए झैँ गरेका थिए ।’
राति थापा रहेको होटल वरिपरि प्रहरी जस्ता देखिने व्यक्तिको चहलपहल बढेपछि आफूहरुले पनि निगरानी गरेको उनले बताए । भने, ‘आउँदै फोनमा बोले जस्तो गर्दै होटलमा आउने जति सबै हेरिरहेका थिए ।’
कांग्रेस संसदीय दलको नेता चयन गर्न बुधबार चुनाव हुँदैछ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र इतर पक्षबाट महामन्त्री गगन थापा उम्मेदवार छन् ।


