१४ असार २०८३, आईतवार
Follow Us

सामाजिक सुरक्षा कोषमा श्रमिक आबद्धता महत्वपूर्ण उपलब्धि : डिबी क्षेत्री, उपाध्यक्ष, गैरआवासीय नेपाली संघ

नेपालब्रिटेन डट कम्
६ पुष २०७९, बुधबार ०२:२२

ओमान । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डिबी क्षेत्रीले सामाजिक सुरक्षा कोषमा श्रमिक आबद्धता हुनु महत्वपूर्ण उपलब्धि भनेका छन् ।

सरकारले सामाजिक सुरक्षा कोषमा श्रमिकहरुलाई आबद्ध गर्न कार्यविधि सार्वजनिक गरे पछि क्षेत्रीले स्वागत गरेका हुन् ।

क्षेत्रीले भने ‘मध्यपूर्व र मलेसियालगायतका मुलुकमा रोजगारीमा रहेका नेपाली श्रमिक अत्यन्तै जोखिममा छन् । यस्तो जोखिममा पूर्ण रोजगारीमा पनि रहनु नेपालीका लागि बाध्यता हो ।’

क्षेत्रीले ‘एउटा कामदार जोखिममा पर्दा ऊ मात्रै होइन, उसको सिंगो परिवार पनि जोखिममा पर्छ । त्यसैले हामीले कामदारलाई आर्थिक सुरक्षा प्रदान गर्न सामाजिक सुरक्षा कोषमा जोड्नका लागि धेरैअघिदेखि प्रयास गरेका थियौँ । ढिलै भए पनि यो काम सफल भएको छ’ भने ।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक वा विदेशमा स्वरोजगारीमा रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम योगदान गर्नुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ पारित गर्दै यस्तो व्यवस्था गरेको हो । यो योजना वैशाखदेखि पूर्ण रूपमा लागू हुनेछ ।

सरकारले औद्योगिक क्षेत्रको कामदारको न्यूनतम आधारभूत पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको छ । यसर्थ, कोषमा जोडिन चाहने वैदेशिक रोजगारीमा रहेका श्रमिकले १५ हजारको २१.३३ प्रतिशतबराबर हुन आउने रकम मासिक रूपमा योगदान गर्नुपर्ने हुन्छ ।

मन्त्रालयले पारित गरेको कार्यविधिअनुसार श्रमिकले गर्ने योगदान रकममध्ये दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनाका लागि ७.४८ प्रतिशत रकम विनियोजन गरिनेछ । वृद्ध अवस्था सुरक्षा योजनामा १३.२५ प्रतिशत रकम विनियोजन गरिएको छ । कोषमा आबद्ध हुने योगदानकर्ताले दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धवस्था सुरक्षा योजना सुविधा प्राप्त गर्नेछन् ।

धेरै पढिएको