२४ भाद्र २०८२, मंगलवार
Follow Us

गुल्मीमा मह दिवस मनाइने

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०७९, शुक्रबार ०५:२५

गुल्मी । गुल्मीमा मह दिवस मनाइने भएको छ । जिल्लाको मुसिकोट नगरपालिकाको वडा नम्बर ८ र ९ मा रहेको ‘सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रम’ अन्तर्गत आगामी बैशाख ४ गते मुसिकोटमा मह दिवस बनाउने तयारी थालिएको हो ।

मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरि गुल्मीलाई महमा आत्मनिर्भर जिल्ला बनाउन मह दिवस मनाउन लागिएको ‘सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रम’ का अध्यक्ष चुमा घर्तीमगरले बताए । मुसिकोट नगरपालिकाको उक्त क्षेत्रमा विगत तीन वर्षदेखि मौरी पालक किसान समूहमा आबद्ध रहेर व्यवसाय गरिरहेका छन् ।

मौरी स्मार्टमा हाल ५१ किसान संगठित छन् । उनिहरुले वार्षिक दुई सय ५० घार मौरी, मौरी बिनाका दुई सय घार र महको व्यापक मात्रामा निर्यात गर्दै आएका छन् ।

स्मार्टका अध्यक्ष घर्तीमगर त्यस क्षेत्रको पहिलो मौरी पालक किसान हुन् । गुल्मीमा मौरी स्मार्ट कार्यक्रम लागु भएपछि उनको अध्यक्षतामा ५१ किसान आबद्ध भएर समूहमा काम गर्न थालेका छन् ।

मौरी स्मार्टले पहिलो वर्ष आधार वर्षको रुपमा हेरेको छ । किसान संगठित, मौरी पालन र महको बजारीकरणलाई आधार बनाइएको थियो । दोस्रो वर्ष वृद्धि वर्षको रुपमा मौरी पालनलाई बढाइएको छ । साथै तेस्रो वर्ष अहिले मह दिवस मनाउने तयारी सकिएको छ । भने अर्को वर्ष निर्यात वर्षको रुपमा रहनेछ ।

पहिलो वर्ष ३२ लाख र दोस्रो वर्ष ३७ लाख ५० हजार लुम्बिनी प्रदेश सरकारको मौरी स्मार्टमा लगानी भएको छ । जसमा मौरी सामग्रीहरु, मह बनाउने तालिम र घार निर्माण लगानी गरेको छ ।

धेरै पढिएको