९ कार्तिक २०८२, आईतवार
Follow Us

नयाँ राहदानीको लागि पोल्याण्डमा तीन दिने घुम्ती सेवा सम्पन्न

नेपालब्रिटेन डट कम्
२२ चैत्र २०७९, बुधबार ०७:१९

वार्सा । बर्लिनस्थित नेपाली दूतावास, वार्सास्थित अवैतनिक वाणिज्यदूतावास र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोल्याण्डको सहकार्यमा विद्युतीय राहदानी फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि तीन दिने घुम्ती सेवा सम्पन्न भएको छ।

पोल्याण्डको राजधानी वार्सामा अप्रिल १ देखि ३ सम्म संचालन भएको घुम्ती सेवामा २१५ जनाले नयाँ राहदानीको लागि आवेदन दिएका छन्, जसको उद्घाटन ३१ मार्चमा नै वार्सास्थित अवैतनिक वाणिज्यदूतावासको अफिसवाटै भएको थियो। पोल्याण्डमा रहेका नेपालीहरुको नयाँ राहदानी बनाउन बायोमेट्रिक संकलनको लागि परराष्ट्र मन्त्रालयको बर्लिनस्थित नेपाल दूतावास र पोल्याण्डको लागि अवैतनिक वाणिज्यदूतावासको रोहबरमा घुम्ती सेवा संचालन गर्ने निर्णय बमोजिम सो सेवा सम्पन्न भएको हो।

सन् २०२४ मार्च ३१ सम्म म्याद भएका राहदानी नवीकरण तथा नयाँ विद्युतीय राहदानी (इ-पासपोर्ट) को लागि फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि घुम्ती सेवा गरिएको हो। यसको सुपरीवेक्षण जर्मनी र पोल्याण्डका लागि नेपाली राजदूत रामकाजी खड्का र समन्वय पोल्याण्डका लागि अवैतनिक वाणिज्यदूत डा. बोधराज सुबेदीले गरेका थिए भने सहजीकरण एनआरएनए एनसिसि पोल्याण्डले गरेको थियो।

पोल्याण्डमा नेपाली दूतावास नभएको कारणले त्यहाँ रहेका नेपालीहरु राहदानी साथै अन्य कागजपत्रको लागि बर्लिनस्थित नेपाली दूतावास धाउनु पर्ने समस्यालाई घुम्ती सेवाले सहजीकरण गरेको छ । घुम्ती सेवा सम्पन्न गर्नका लागि जर्मन दूतावासबाट खटिएर प्रेम भण्डारी आएका थिए भने पोल्याण्डमा रहेका समाजसेवीहरु डा. एलिनी पोख्रेल सुवेदी (एनआरएनए आइसिसी महिला सचिव) , मित्रलाल पार्दे (ईनास ग्लोबलका सल्लाहकार), गोपाल राई, नरेश सापकोटा, कविन्द्र सुवेदी, उदयराज गिरि लगायत स्वयंसेवकहरुले विशेष सहयोग गरेका थिए । सो घुम्ती सेवामा म्याद सकिन लागेका पासपोर्टका साथ-साथै हराएका, नाम बिग्रिएका पासपोर्ट नयाँ बनाउन पोल्याण्डमा बसोबास गरिरहेका नेपालीहरुले आवेदन दिएका छन्। आवेदन दिनेहरूमा सबैभन्दा कान्छो आस्रभ अधिकारी (जम्मा ३ हप्ता) र सवभन्दा जेठोमा दुर्गा मास्के (८१ बर्ष) छन् । यसरी आवेदन दिएका आवेदकहरुले बीस दिनदेखि दुई महिना भित्रमा पासपोर्ट प्राप्त गर्ने र राहदानी तयार भएर आएपछि उनीहरुकै ठेगानामा कुरियरद्वारा पठाउने व्यवस्था मिलाइएको अवैतनिक वाणिज्यदूत डा. सुवेदीले बताए ।

बर्लिनस्थित नेपाली दूतावासले रोमानिया, चेक रिपव्लिक र हंगेरीमा यस्ता सेवाको व्यवस्था गरिसकेको छ भने आगामी दिनहरूमा अन्य देशहरूमा पनि यस्तै सेवा परिचालन गर्ने जनाएको छ।

धेरै पढिएको