लण्डन। नेपालको सीमासम्बन्धी बिषयमा हचुवाको भरमा नबोल्न प्रा.डा. सूर्यप्रसाद सुवेदीले सुझाएका छन् । नेपाल–भारत सम्बन्धका अन्तरर्राष्ट्रिय कानूनी मामलामा लामो समयदेखि प्राज्ञिक तहमा कलम चलाउँदै आएका र इतिहासका विभिन्न कालखण्डमा नेपाल सरकारलाई कानूनी सल्लाह दिंदै आएका प्राध्यापक सुवेदीले लन्डनबाट आज एक प्रेस बिज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालका प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमणको प्रसंगमा नेपालको सीमा विवादजस्तो संबेदनशील बिषयमा विभिन्न पक्षले हचुवाको भरमा बोलेको देखियो । नेपालको सीमासम्बन्धी बिषयमा क्षणिक श्रेय लिनका लागि हचुवाको भरमा बोल्ने प्रवृत्तिको अन्त्य गर्नु आवश्य छ।’
नेपालको आफनै परराष्ट्र सयन्त्र छ, इपीजी को प्रतिबेदन छ, नेपाल सरकारले गठन गरेको सीमा सम्बन्धी विज्ञ समूहको प्रतिबेदन छ। यस्ता परराष्ट्र मन्त्रालयमा भएका संस्थागत प्रतिबेदन हेरेर, अन्तरराष्ट्रिय कानून र अन्तरराष्ट्रिय अभ्यासको अध्ययन गरेर, राम्रोसँग गृह कार्य गरेर, दीर्घकालीन नीति बनाएर कूटनीतिक स्तरमा बोलिनुपर्ने बिषयमा विभिन्न पक्षले हचुवाको भरमा राजनीतिक श्रेय लिने हेतुले बोल्नु उपयुक्त होइन। भारत र बंगलादेशको स्थल सीमाबारे गरिएको सट्टा–पट्टा एउटा उदाहरण मात्र हो। यी दुवै देशले सामुद्रिक स्थल वा जल सीमा विवाद निराकरण गर्न अन्तर्राष्ट्रिय प्राधिकरणमा गएको अर्को उदाहरण छ। बंगलादेश र म्यानमार पनि यसै गरी सामुद्रिक स्थल वा जल सीमा विवाद निराकरण गर्न अन्तर राष्ट्रिय अदालत गएका थिए। भारत र पाकिस्तान पनि सीमा विवादबारे अन्तरराष्ट्रिय अदालत गएको उदाहरण छ।
हचुवाको भरमा बोल्ने, राजनीतिक स्वार्थका लागि राष्ट्रिय मुद्दालाई उपयोग गर्ने, पर्याप्त गृहकार्य नगर्ने र संस्थागत सम्झनामा भएका प्रतिबेदन वा दस्ताबेजलाई वास्ता नगर्ने प्रवृत्तिका कारण नेपाल परम्परागत रूपले द्विपक्षिय सन्धि गर्दा चिप्लिदै आएका प्रशस्त उदाहरण छन। विदेशीका चिप्ला भाषण र खोक्रा आश्वाशनमा आश्वाशनमा बहकिएर विभिन्न बिषयमा नेपाली नेताहरु चिप्लिएको मार नेपालले अहिले सम्म खेपी रहेको छ।
यसैगरी सीमा विवादमा नेपाल फेरि चिप्लिन सक्ने डर देखिएको छ। भारतको बाटो हुँदै बंगलादेशको कुनै पनि बन्दरगाहसम्म निर्बाध आवागन गर्ने कुरा भूपरिबेष्ठित राष्ट्रको नाताले अन्तरराष्ट्रिय कानूनले नै प्रत्याभूत गरेको नेपालको अधिकारको कुरा हो । यसका लागि नेपालले कुनै ठूलो मूल्य चुकाउनु आबश्यक छैन भन्ने पनि प्राध्यापक सुवेदी ले बताएका छन्।