२० भाद्र २०८२, शुक्रबार
Follow Us

संशोधनबिनै आज बजेट पास गर्ने सरकारको तयारी

नेपालब्रिटेन संवाददाता
१३ असार २०८०, बुधबार ०५:४७

काठमाडौं । सत्तारुढ दलभित्रैबाट चर्को आलोचना भए पनि सरकारले आगामी आर्थिक वर्षको बजेट संशोधनबिनै आज प्रतिनिधिसभाबाट पास गराउने भएको छ । त्यसका लागि बिहान ११ प्रतिनिधिसभाको बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

विनियोजन विधेयकसहित मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिइसकेका छन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफू मातहतका कार्यालयको बजेटबाट उठेको प्रश्नको जवाफ दिएपछि बजेट पास गर्ने तयारी सरकारको छ ।

प्रधानमन्त्री दाहालले बजेटअन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै सभामुख देवराज घिमिरेले विभिन्न मन्त्रालयहरुको विभिन्न शिर्षकमा सांसदहरुले प्रस्तुत गरेको खर्च कटौतीका प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्नेछन् । संसद सचिवालयकाअनुसार २७ जना सांसदले विभिन्न मन्त्रालयको विभिन्न शिर्षकमा खर्च कटौतीको प्रस्ताव गरेका छन् ।

यसपछि विनियोजन विधेयक २०८० का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै उनले आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । यसपछि आर्थिक विधेयक २०८० माथि दफावार छलफलको लागि दिन तोकिने छ । अर्थमन्त्री महतले राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

अर्थमन्त्री महतले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

जेठ २२ देखि सुरु भएको बजेटमाथिको छलफलमा मात्रै नभएर बैठक नै बसेर यथास्थितिमा पारित गर्न नदिने बताएका दलहरू पनि बिनासंशोधन बजेट पारितका लागि तयार भएका छन् । बजेट पास गराउन सहमति जुटिसकेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जनाए ।

सत्ता गठबन्धन दलहरुबीच बजेटमा नमिलेका विषयपछि सम्बोधन गर्दै जाने सहमति भएको छ । यसअघि विशेष गरी सत्तारुढ जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले बजेट संशोधन नभए पारित गर्न नदिने अडान राख्दै आएका थिए । तर अहिले नै बजेट संशोधन सम्भव नदेखिएको तथा प्रधानमन्त्री र अर्थमन्त्रीले आश्वासन दिएपछि त्यसलाई पारित गरेर जाने विषयमा सहमति जुटेको सत्तारुढ दलका सांसदहरूको भनाइ छ ।

बजेट पारित गर्ने विषयमा नेपाली कांग्रेस र मा‌ओवादी केन्द्रले ह्विप जारी गरिसकेका छन् । जसपा र एकीकृत समाजवादीले भने औपचारिकताका लागि आज छलफल गर्ने भएका छन् । दलगत निर्णय गर्नका लागि छलफल हुने भए पनि बजेटको पक्षमा मतदान गर्ने निश्चित भएको एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले जानकारी दिए ।

धेरै पढिएको