लामो छुट्टीमा नेपाल नजान भूपूगोर्खाहरुलाई सुझाव
लन्डन । ब्रिटिश सेनाबाट सेवा निवृत्त भूतपूर्व गोर्खा सैनिकहरुलाई सघाउन स्थापित गोर्खा वेलफेयर ट्रष्टले बेलायतमा आइएलआर भिसा लिएर बसीरहेका भूपूहरुलाई लामो छुट्टीमा नेपाल नजान सल्लाह दिएको छ।
गत शनिबार बर्न्टओकस्थित टेरिटोरियल आर्मीको कार्यालयमा भूतपूर्व गोर्खा सैनिकहरु तथा तिनका परिवारजनसंग अन्तरकृया गर्दै गोर्खा वेलफेयर ट्रष्टका वेलफेयर अफिसर (रिटायर्ड) क्याप्टेन ग्यारी घलेले ब्रिटेनको नियमअनुसार पेन्सन क्रेडिट पाउने भूपूहरुले २८ दिनमात्र बेलायतबाहिर बिताउन पाउने र छुट्टीमा नेपाल जानु अघि र फर्के पछि पनि ब्रिटिश सरकारको डिपार्टमेन्ट अफ वर्क्स एण्ड पेन्सन (डिडब्लुपि) को पेन्सन अफिसलाई फोन गरेर जानकारी दिनुपर्ने बताउनुभयो। बेलायतमा फोन गर्न संभव नभए काठमाडौंस्थित ब्रिटिश क्याम्पमा रिपोर्ट गर्न सकिने पनि उहाँले जानकारी दिनुभयो।
उहाँले त्यसो नगर्दा डिडब्लुपिले भूतपूर्व गोर्खा सैनिकहरुले पाउने भत्ता रोकीदिनसक्ने तथा लामो समयसम्म बेलायतबाहिर बसेमा भत्ता कटौती पनि गरीदिनसक्ने बताउनुभयो। उहाँले बेलायतको स्थायी आवासीय भिसा लिएर नेपालमा बस्न नमिल्ने भन्दै कुनै कारणले बसाइ लम्बिन गएमा पनि फोन गरेर जानकारी दिन सुझाव दिनुभयो।
आफु बसीरहेको ठेगाना परिवर्तन भएमा बैंक, जीपी र डिडब्लुपि लाई तत्काल जानकारी दिन पनि उहाँले सल्लाह दिनुभयो।
ब्रिटेनमा छिट्टै युनिभर्सल क्रेडिट प्रचलनमा आउन लागेको र यसले पेन्सन क्रेडिट लगायतका अन्य बेनिफिटहरुलाई विस्थापित गर्ने बताउँदै क्याप्टेन घलेले सेप्टेम्बर २०१८ देखि सबै विवरण अनलाइन भर्नुपर्ने नियम आउन लागेको जानकारी पनि दिनुभयो। त्यसो गर्न नसक्ने भूतपूर्व गोर्खा सैनिकहरुलाई सहयोग गर्न उहाँले नेपाली संघसंस्थाहरुलाई आग्रह गर्नुभयो। भिसा बाहेकका अन्य विषयमा सहयोग गर्न गोर्खा वेलफेयर ट्रष्ट तयार रहेको पनि उहाँले बताउनुभयो।
बेलायत सरकारले बायोमेट्रिक रेजीडेन्स पर्मिट (बीआरपी) ल्याउन लागेको र त्यसले पुरानो पासपोर्टलाई प्रतिस्थापित गर्ने पनि उहाँले बताउनुभयो। यदि पुरानो पासपोर्टमा बेलायतको भीसा लागेको छ भने त्यो पनि साथै राख्नप उहाँले सुझाव दिनुभयो।
सो अवसरमा बोल्दै बर्न्टओक नेपाली समाजका सल्लाहकार लक्ष्य गुरुङले बेलायतमा भैरहेका नीतिगत परिवर्तनबाट आफुहरुलाई पर्नसक्ने असरबारे भूतपूर्व गोर्खाहरु चनाखो हुनुपर्ने बताउनुभयो। समाजका अध्यक्ष रमेश गुरुङले भूतपूर्व गोर्खाहरुको दैनिक जीवन सजीलो होस् भन्ने उद्देश्यले त्यस्तो अन्तरकुया कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले क्याप्टेन घले तथा सबै सहभागीहरुलाई धन्यवाद पनि दिनुभएको थियो।
हाल बर्न्टओकमा बर्न्टओक नेपाली समाजका संस्थापक अध्यक्ष उदयबहादुर गुरुङको संयोजकत्वमा भूतपूर्व गोर्खा सैनिकहरुकालागि विभिन्न किसिमका कक्षाहरु सन्चालन भैरहेका छन्।

