काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसले सर्वसम्मत उम्मेदवार छनोट गर्न नसकेपछि अन्तरघात हुने सम्भावना बलियो रहेको जानकारहरु बताउँछन् । संस्थापन पक्षले इतर समूहलाई पेलेर अघि बढेको हुनाले अन्तरघातको सम्भावना बलियो बनेको हो । उम्मेदवार छनोटप्रति महामन्त्री गगनकुमार थापाले समेत लेखित असहमति पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइसकेका छन् ।
संस्थापनले ६ जना, ३ जना संस्थापनइतर र एकजना साझा उम्मेदवारको नाम सार्वजनिक भएको छ । त्यसमा तीनजना केन्द्रीय सदस्य र दुईजना प्रदेश महामन्त्री छन् । संस्थापनबाट कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, जीतजंग बस्नेत, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट हुन् । गण्डकी प्रदेशबाट उम्मेदवार बनेका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार तथा लुम्बिनी प्रदेशबाट महिलातर्फ उम्मेदवार बनेकी विष्णुकुमारी सापकोटालाई संस्थापनइतर भनिएको छ ।
बागमतिबाट उम्मेदवार बनेकी विष्णुदेवी पुडासैनीलाई साझा उम्मेदवारका रुपमा हेरिएको छ । लामो समय काठमाडौं जिल्ला महिला संघको नेतृत्व सम्हालेकी पुडासैनी उमेरले पनि ७४ वर्ष नाघिसकेकी छन् । लामो समय कुनै समूहमा नखुलेकी पुडासैनीको उम्मेदवारीलाई कसैले औंला उठाउन सकेका छैनन् ।
बागमतिबाट टिकट पाएका जीतजंग बस्नेत पार्टीको १४ औं महाधिवेशनमा शीर्ष १० भित्र केन्द्रीय सदस्यमा निर्वाचत हुने नेता हुन् । विद्यार्थी राजनीतिको पृष्ठभूमि र तरुण दलको नेतृत्व सम्हालेका बस्नेत ललितपुरका हुन् । जस्तोसुकै परिस्थितिमा पनि सभापति देउवाको साथ नछोडेका बस्नेतले राष्ट्रियसभामा उम्मेदवार बन्ने अवसर पाएका छन् ।
दुई प्रदेश महामन्त्री पनि उम्मेदवारीमा परेका छन् । कर्णालीबाट उम्मेदवार बनेका कृष्णबहादुर रोकाय र गण्डकीका किरणबाबु श्रेष्ठ प्रदेश महामन्त्री हुन् । रुकुम पश्चिमका कांग्रेस नेता रोकाया उपसभापति पूर्णबहादुर खड्काको सहयोगी ठानिन्छन् ।
गण्डकीबाट टिकट पाएका किरणबाबु श्रेष्ठ शेखर कोइरालाका दाइने हात मानिन्छन् । उनी गण्डकी प्रदेशका लोकप्रिय नेता हुन् । गण्डकी प्रदेशबाटै अपांगता/अल्पसंख्यकबाट टिकट पाएका पदमबहादुर परिवार तनहुँका हुन् । दलित संघको जिम्मेवारीसमेत निर्वाह गरिसकेका परिवार पनि गण्डकीमा लोकप्रिय छन् ।
शेखर समूहबाट उम्मेदवार बनेकी विष्णुकुमारी सापकोटा गुल्मीकी हुन् । उम्मेदवारको चर्चामा रहेकी अर्घाखाँचीकी पुष्पा भुषाललाई विस्थापित गरेर विष्णुकुमारी उम्मेदवार बन्न सफल भएकी हुन् ।
मधेश प्रदेशबाट टिकट पाएका आनन्दप्रसाद ढुंगाना कांग्रेसका पुराना नेता हुन् । मधेशमा धेरै नेता भएकाले अवसर नपाएका ढुंगानालाई यसपटक सभापति देउवाले राष्ट्रियसभामा टिकट दिएर न्याय गरेको विश्लेषण गरिएको छ ।
कोशी प्रदेशबाट अन्य समूहबाट उम्मेदवार बनेका कृष्णप्रसाद सिटौलाको नाम भने हिजो आइतबार नै टुंगो लागेको थियो । झापा–३ बाट संसदीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग दुई पटक पराजित सिटौला आफैमा विवादस्पद नेता हुन् । चुनाव जिते उनलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने लगभग पक्काजस्तै छ ।
सुदूरपश्चिमबाट उम्मेदवार बनेका बलदेव बोहरा र नारायणदत्त भट्ट सभापति देउवाको सहयोगी हुन् । बोहरा सभापति देउवाको सचिवालयमै बसेर सहयोग गरेका नेतासमेत हुन् । जिल्ला नेतृत्वमा रहेका भट्टले अपांगता अल्पसंख्यक कोटाबाट टिकट पाएका हुन् । उनी कांग्रेसका पुराना नेता हुन् ।