काठमाडौँ- नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सशक्त आन्दोलनमा उत्रनुपर्ने अवस्था बन्दै गएको बताउनु भएको छ । मनोनीत छ जना केन्द्रीय कमिटी सदस्यहरूलाई आज पार्टी कार्यालय ललितपुरमा सपथ ग्रहण गराउनु हुँदै अध्यक्ष ओलीले मुलुक बर्बाद हुनबाट जोगाउन केही समयभित्र सशक्त आन्दोलनमा उत्रनुपर्ने अवस्था सिर्जना भइरहेको बताउनुभएको हो ।
अध्यक्ष ओलीले नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको चर्चा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउने पक्षमा भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । मुलुकमा धार्मिक विद्वेष फैलाउने र पहिचानका नाममा राजनीति भाड्ने काम भइरहेको ओलीको भनाई थियो ।
अध्यक्ष ओलीले विद्युत व्यापार, देशको भूभागको रक्षा लगायतका विषयमा वर्तमान गठबन्धन सरकारका काम कारवाही सन्तोषजनक नभएको टिपणी गर्नु भयो । पार्टीभित्र अराजकता र अनुशानहीनता जस्ता कुरा स्वीकार्य नहुने स्पष्ट गर्दै ओलीले आगामी २०८१ पार्टीका लागि शुद्धीकरण र सुदृढीकरणको बर्ष हुने बताउनुभयो ।
सचिवालयले मनोनिति गरेका केन्द्रीय सदस्यहरु दामोदर भण्डारी, विनोद शाह, केशव पाण्डे, रामऔतार यादव, तुलसी न्यौपाने र दीपक कार्कीले आज पद तथा गोपनियताको सपथ लिनु भएको हो ।