सुरक्षा व्यवस्था मजबुद छ, कसैले दख्खल दिन सक्दैन
छविलाल जोशी, काठमाडौं प्रहरी प्रमुख
वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि राजधानीमा आवश्यक सुरक्षा तयारी पूरा भइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले स्थानीय नर्वाचनका प्रमुख चुनौती पहिचान गरिसकेको र त्यसलाई रोक्न आफूहरुले पर्याप्त तयारी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले दाबी गरको छ । काठमाडौं प्रहरीले आफूहरुको प्रयास चुनाव विरोधी कुनै पनि घटना हुन नदिने बताएको छ । यहि बिषयमा काठमाडौं प्रहरी प्रमुख एसएसपी छबिलाल जोशीसँग लोकराज अधिकारीले गर्नुभएको कुराकानी ।
० निर्वाचनको सन्दर्भमा चुनावी सुरक्षा कस्तो छ ?
– सम्पूर्ण चुनावी महोल बनेको छ, हामी पनि चुनावमै केन्द्रित भएर सुरक्षा व्यवस्थामा लागेका छौं । सम्पूर्ण स्थानमा हामीले प्रहरी परिचालन गरेका छौं । अन्य सुरक्षा निकायसँग साथ लिएर अगाडि बढेका छौं । प्रत्येक मतदान केन्द्रमा प्रहरी खटिसकेका छन् ।
० काठमाडौंका लागि मुख्य चुनौति के हो ?
– नयाँ चुनौति केही पनि छैन, परम्परागत चुनौति नै हुन् । पार्टीहरुबीच झगडा हुने, राजनीतिक दलहरुबीच असमझदारी, गुण्डागर्दी हुनै हुन् । अहिले निर्वाचन विरोधी केही राजनीतिक दल निर्वाचन बिथोल्न खोजेको छ । उनीहरु अहिले हाम्रा चुनौतिका रुपमा देखापरेका छन् ।
० निर्वाचन बिथोल्न खोज्ने दलहरुले त्यस्तो कुनै चुनौति उत्पन्न गर्ने संकेत प्राप्त भएको छ ?
– विभिन्न निकायबाट सूचना आइरहेको छ, चुनाव विथोल्छु भनेर खुल्लारुपमै भनिरहेका छन् । चुनाव बिथोल्न खोज्नेहरुको सम्पूर्ण चिजहरु लोकेट गरिसकेका छौं । त्यसैले सबैले ढुक्क भएर मतदान गर्न र आफूले चाहेको उम्मेदवारलाई जिताउन सुरक्षाका विषयमा कुनै चिन्ता नलिन आग्रह गर्दछु ।
० लुकेर मतदातालाई त्रसित पार्ने घटनालाई कसरी निस्तेज पार्नुहुन्छ ?
– मतदातालाई त्रसित पार्ने कुनै घटना भएको छैन, काठमाडौं सुरक्षित छ । विगत दुई तिन महिनादेखिको घटना हेर्नुहोस्, हामी सम्पूर्ण सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षित वातावरण बनाउन हामी सक्षम छौं । अहिले काहिँकतै सुरक्षा चुनौतिको वातावरण छैन । २४ सै घन्टा प्रहरीले सुरक्षा दिइरहेको छ ।
० हिट एन्ड रनको सम्भावना यसपटक छैन ?
– त्यो सम्भावना हामी नकार्न सक्दैनौं, त्यो सम्भावनालाई मध्यनजर गरेर सुरक्षा रणनीति बनाएका छौं । प्रत्येक ठाउँमा इन्टरनल घेरामा प्रहरी रहने, त्यसबाहिर सशस्त्र र त्यसपछि नेपाली सेना रहन्छ । राष्ट्रिय अनुसन्धानका साथीहरुले सूचना संकलन गर्ने र सादा पोशाकका प्रहरी हामीले व्यापक खटाएका छौं । सानो घटना भयो भने मात्रै पनि हामी तुरुन्तै पक्राउ गर्न सक्ने हिसाबले क्षमता वृद्धि गरेका छौं ।
० यो निर्वाचन तपाईंको कार्यक्षमताको प्रतिष्ठासँग जोडेर हेरिएको छ नि ?
– काठमाडौंका लागि म नयाँ हौला, तर नेपाल प्रहरीमा नयाँ व्यक्ति होइन । सुरक्षा प्रणालीमा म नयाँ होइन । सबै मैले जाने, बुझेकै कुरा हुन् । विभिन्न कालखण्डमा नेपाली प्रहरीले यस्ता काम गर्दै आएको छ, त्यसको म पनि एउटा सदस्य हुँ । मेरो माथिका अधिकृत र तलका साथीहरुलाई समन्वय गरेर हामी अगाडि बढेका छौं । यी विषयलाई चुनौतिसँग गाँसिनु भन्दा पनि सबैले कर्तव्य पूरा गरौं । भयमुक्त वातावरणमा निर्वाचन हुने वातावरण बनाउन हामी समक्ष भएका छौं ।
० चुनाव विथोल्ने राजनीतिक दलका कार्यकर्ता पहिचान गर्नुभएको छ ?
– त्यस्ता व्यक्ति पहिचान भइसकेका छन्, केहीलाई हामीले हिरासतमा लिइसकेका छौं । हाम्रो सूचिमा रहेका व्यक्तिहरु हामी चिन्छौं । प्रत्येक व्यक्तिका पछि हामीले सुरक्षाकर्मी खटाएका छौं । उनीहरुप्रति हाम्रो अनुगमन र निरगानी निरन्तर छ ।
० कुनै त्यस्तो मतदान केन्द्र छ, जहाँ बढी सुरक्षा दिनुपर्छ ?
– रिङरोड बाहिर जहाँ पुग्न केही समय लाग्न सक्छ, त्यहाँ हामीले बढी सुरक्षाकर्मी र क्षमतावान अधिकृतहरुलाई खटाएका छौं । मतदान अधिकृतको छनोट पनि त्यही हिसाबले भएको छ ।
० मतदान केन्द्रमा सादा पोशाकका बिहानदेखि बेलुकीसम्म प्रहरी खटेका छन् ?
– बिहानदेखि बेलुकी होइन, ३ अगाडिदेखि हामीले उक्त क्षेत्रमा सादा पोशाकका प्रहरी परिचालन गरिरहेका छौं । त्यस्ता ठाउँहरुमा हामीले सम्पूर्ण सुरक्षाको तयारी पूरा गरेका छौं । त्यहाँको भौगोलिक वनावटसँग पनि प्रहरी जानकार छ । हुलहुज्जत गर्ने अथवा अशान्ति मच्चाउन सक्ने व्यक्तिलाई हामीले हिरासतमा लिइसकेका छौं । त्यो कुराको आँकलन नेपाल प्रहरीले गरिसकेको छ ।
० गुण्डा नाइकेहरु पनि पक्राउ परेका छन् ?
– गुण्डा नाइके भनेर होइन, केही व्यक्तिहरुको क्रियाकलाप समाजमा अपाच्य देखियो । जनता त्रसित हुन्थे, त्यसलाई मध्यनजर गरेर हामीले केही व्यक्तिलाई हिरासतमा लिएका हौं । जनताको अभिमतलाई फरक पार्ने क्रियाकलाप गर्छन भन्ने हामीलाई लागेर केही व्यक्तिलाई प्रि–एरेस्ट गरेका छौं ।
० २० जनाको लिस्ट बनाउनुभएको थियो, कति पक्राउ गर्नुभयो ?
– त्यो संख्या बढेर ४२–४५ पुगिसकेको छ । केही व्यक्ति हिरासतमा छन् भने केही व्यक्ति दैनिक हाजिरीमा छन् । त्यस्ता व्यक्तिलाई हामी निरन्तर निगरानी गरिरहेका छौं ।
० सुरक्षाको जिम्मा लिएको तपाईंले मतदातालाई कसरी आश्वस्त बनाउनु हुन्छ ?
– सुरक्षा व्यवस्था मजबुत छ, चुनावमय महोल भइसकेको छ । यसलाई कसैले दख्खल दिन सक्दैन । यदि कसैलाई सुरक्षाप्रति शंका लागे नागरिकले प्रहरीलाई सहयोग गर्नुपर्छ । उहाँहरुले हामीलाई सूचना दिनुपर्छ, सूचना हाम्रो हतियार हो, शंकास्पद व्यक्ति, वस्तुहरु देखिए तुरुन्त प्रहरीको कन्ट्रोल रुपमा खबर गर्न आग्रह गर्दछु । सुरक्षामा कुनै शंका गर्नुपर्दैन, सुरक्षित हुनुभएकाले आफ्नो अभिमत प्रकट गर्न आह्वान गर्दछु ।

