‘चर्चित १० जनाको नाम सिफारिस गर्नुहोस्’
लन्डन । बेलायतबाट सञ्चालित नेपालब्रिटेन डट कम ले आफ्नो १८ औं वार्षिकोत्सव आगामी जुन २२ तारिख, आइतबार मनाउने भएको छ।
सन् २००७ को जुन महिनादेखि अनलाइन सेवा सञ्चालनमा आएको यस समाचार पोर्टलले १८ औं वार्षिकोत्सव मनाउने तयारी गरेको हो।
नेपालब्रिटेन डट कमका अध्यक्ष चिरञ्जीवी ढकालका अनुसार स्टान्सस्थित स्ट्याबेल कम्युनिटी हलमा आयोजना हुने सो समारोहमा बेलायतमा सक्रिय १० सामाजिक व्यक्तित्वलाई सम्मान गर्ने तयारी गरिएको छ।
अनलाइनले हरेक वर्ष बेलायतमा विभिन्न सामाजिक क्षेत्रमा सक्रिय चर्चित व्यक्तिहरूको सूची सार्वजनिक गर्दै आएको छ। गत वर्षहरूमा जस्तै यस वर्ष पनि नेपाली समुदायसँगै वार्षिकोत्सव मनाउने तयारी गरिएको ढकालले बताए।
सो अवसरमा नेपाली दूतावास लन्डन, स्थानीय सामाजिक संघसंस्था, पत्रकार, बुद्धिजीवी लगायतको उपस्थितिमा नेपालबाट आएका कलाकारहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन्।
नेपालब्रिटेन डट कमका सम्पादक चिरन शर्माका अनुसार गत वर्षहरूमा जस्तै यस वर्ष पनि बेलायतमा चर्चित १० नेपालीलाई सम्मान गरिनेछ। उनले बेलायतस्थित नेपाली समुदायको सिफारिसका आधारमा ती चर्चित १० जनाको नाम चयन प्रक्रिया अघि बढिसकेको जानकारी दिए। यस वर्ष बेलायतमा सक्रिय एक सामाजिक संस्थालाई समेत सम्मान गर्ने तयारी गरिएको उनले बताए।
‘चर्चित १० जनाको नाम सिफारिस गर्नुहोस्’
यसैबीच, सो समारोहमा सम्मानित हुने चर्चित १० व्यक्तित्व र एक सामाजिक संस्थाको नाम सिफारिस गर्न सकिने आयोजकले जनाएको छ। नेपालब्रिटेन डट कमले तलको इमेल ठेगानामा ती व्यक्तिहरू र संस्थाको नाम आगामी अप्रिल १० तारिखभित्र पठाउन आग्रह गरेको छ।
E-mail: nepalbritain@gmail.com