‘आफूले जिते मात्र सिस्टम सही, अरूले जिते सिस्टम गलत’ यस्ता सोचले संगठनमा नकारात्मक परिस्थिति सिर्जना गरिरहेका छन्’
टोकियो— गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानकी सक्रिय अभियन्ता संगिता अधिकारी सुवेदीले संघभित्र प्रणालीको सम्मान र संस्थागत मूल्यको संरक्षण अपरिहार्य रहेको बताएकी छन्।
सन् २०२३-२५ कार्यकालका लागि एनआरएनए जापानको अध्यक्ष पदमा उम्मेदवारी दिएकी सुवेदी उपविजेता बनेकी थिइन्। निर्वाचन परिणामलाई सहर्ष स्वीकार्दै उनले दुई वर्ष चुपचाप संगठनको हितमा योगदान दिइरहेको बताइन्।
“मैले ‘MIS प्रणाली’ अर्थात् ‘माया प्रणाली’लाई सम्मान गर्दै चुपचाप दुई वर्ष बिताएँ,” सुवेदीले भनिन्, “नतिजा स्वीकारेँ, र हारको रोइलो गरिन। चुनाव हारेको टिममा गइनँ, जहाँ मलाई कुनै पद दिइने प्रस्ताव थियो। तर त्यो भन्दा ठूला मूल्य–सिद्धान्त र संगठनप्रतिको निष्ठा मैले रोजेँ।”
उनका अनुसार निर्वाचनमा भाग लिनुको अर्थ हार वा जित दुबैलाई स्वीकार गर्नु हो। तर, कतिपय व्यक्ति भने आफैले जिते मात्र प्रणाली ठीक छ भन्ने मानसिकताबाट अगाडि बढिरहेका छन्, जसले संगठनमा नकारात्मकता फैलाइरहेको छ।
“म जस्तै धेरै साथीहरूले नतिजा स्वीकारेर चुपचाप योगदान दिइरहनु भएको छ,” उनले भनिन्, “अब समय आएको छ– हामी सबैले यो प्रणालीलाई स्वीकार गर्ने, सदस्यता लिने र अरूलाई पनि सदस्यता लिन प्रेरित गर्ने।”
सुवेदीले संगठन व्यक्ति केन्द्रित नभई प्रणाली केन्द्रित हुनुपर्नेमा जोड दिँदै भनिन्, “व्यक्तिको समर्थनभन्दा संस्थाको मजबूती महत्वपूर्ण हो। अन्ततः, सदस्यता लिने जिम्मेवारी हाम्रो सबैको हो।”
उनको भनाइले एनआरएनएभित्र लोकतान्त्रिक अभ्यास र संस्थागत मर्यादाप्रति निष्ठा राख्ने सदस्यहरूका लागि सकारात्मक सन्देश प्रवाह गरेको छ।