१८ भाद्र २०८२, बुधबार
Follow Us

साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने

नेपालब्रिटेन संवाददाता
१८ जेष्ठ २०८२, आईतवार १९:२३

राप्रपाले काठमाडौँ उपत्यका बन्दमा भाग नलिने घोषणा गरेको छ। राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमार्फत बन्दमा सहभागी नहुने जानकारी दिएका हुन्।
पक्राउ परेका नेता कार्यकर्ता रिहा भइसकेकाले राप्रपाले बन्दमा साथ नदिने जनाएको छ।
काठमाडौँ। आफ्ना नेता पक्राउ परेको विरोधमा राजावादी समूहले घोषणा गरेको उपत्यका बन्दमा राप्रपाको सहभागिता नहुने भएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार सामाजिक सञ्जालमा फेसबुक मार्फत सोमबार हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जानकारी दिए।

‘सामान्यतया राप्रपा बन्द हडताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा छ। आज सरकारको तर्फबाट पक्राउमा परेका नेता कार्यकर्ताहरूको रिहाइको विशेष सन्दर्भमा उपत्यका बन्दको प्रसङ्ग उठेको भए पनि पक्राउ परेका नेता कार्यकर्ताहरू रिहा भइसक्नुभएको हुँदा भोलि हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जानकारी गराउँछु,’ अध्यक्ष लिङ्देनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्।

यसअघि नवराज सुवेदीको नेतृत्वमा रहेको जनआन्दोलन समितिले उपत्यका बन्द घोषणा गरेको थियो । ‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौँ । यसै क्रममा जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौँ । उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरूलाई आह्वान गर्दछु,’ सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

धेरै पढिएको