काठमाडौं । माल्टामा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । म्याग्दी स्थायी ठेगाना भएका ४२ वर्षीय खिमबहादुर पुनको दुर्घटनामा मृत्यु भएको हो ।
आइतबार बिहान बिरकिरकारा भन्ने स्थानमा उक्त दुर्घटना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिएका छन । उनका अनुसार मृतक तीन वर्षदेखि माल्टामा रोजगारीमा रहेका थिए ।
उनको परिवार पोखरामा बस्दै आएको खुलेको छ भने परिवारलाई जानकारी गराइसकिएको खनालले जानकारी दिए । यसैगरी स्थानीय सञ्चारमाध्यम माल्टा टाइम्सका अनुसार ‘हिट–एण्ड–रन’ को घटना भएको हो ।
मोटरसाइकलमा सवार पुनलाई एउटा कारले ठक्कर दिएर भागेको थियो । प्रारम्भिक अनुसन्धान अनुसार स्थानीय समय बिहान करिब ५ः २० बजे त्रिक साल्भु पसाइला सडकमा कारले पुनले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करपछि कार पार्किङमा राखिएका अरु तीनवटा गाडीमा ठोक्किएको बताइएको छ। दुर्घटनापछि कार चालक र दुई जना सवारहरू घटनास्थलबाट फरार भएका थिए । पीडितको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।