लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र हाम्रो हो – नेपाल
काठमाडौं । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भू–भाग रहेको स्पष्ट गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट रहेको बताएको छ ।
विज्ञप्तिमा भारत सरकारलाई सो क्षेत्रमा सडक निर्माण, विस्तार तथा सीमा व्यापारजस्ता क्रियाकलाप नगर्न नेपालका तर्फबाट आग्रह गर्दै आएको उल्लेख छ । भारत र चीनबीच
लिपुलेक हुँदै सीमा व्यापार थाल्ने सहमति भएपछि यो विषय अहिले चर्चामा छ । चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भारत र चीनबीच लिपुलेक हुँदै व्यापार गर्ने सहमति भएको थियो ।
‘नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ’, मन्त्रालयले भनेको छ, ‘नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माणरविस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको व्यहोरा पनि विदितै छ । उक्त क्षेत्र नेपाली भू–भाग रहेको विषय मित्र राष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको व्यहोरा पनि अवगत नै छ ।’
विज्ञप्तिमा कूटनीतिक माध्यमबाट समस्याको समाधान खोज्न नेपाल तयार रहेको भनिएको छ । नेपाल र भारतबीच रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको परराष्ट्रले जनाएको छ ।

