काठमाडौँ — अमेरिकासहित ९ देशका दूतावासले नेपालमा जेन–जी प्रदर्शनमा भएको घटनाबारे संयुक्त विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण तरिकाले समाधान खोज्न आग्रह गरेका छन् ।
सोमबारको जेन–जी प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएको थियो । सोमबार साँझ ९ मुलुकका दूतवासले एकसाथ विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्ति जारी गर्नेमा अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी र अमेरिकाका नेपालस्थित दूतावासहरू छन् ।
‘हामी शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्छौं । हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थिति थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्छौं,’ विज्ञप्तिमा भनिएको छ।
दूतावासहरूले सोमबार भएको घटनाबारे दु:ख पनि व्यक्त गरेका छन् ।