२८ भाद्र २०८२, शनिबार
Follow Us

नेपालमा शान्तिको कामना गर्दै लण्डनमा भजन–कीर्तन

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०८२, शुक्रबार २१:४७

लण्डन । नेपालमा शान्ति स्थापना र हालै जेनजीको आन्दोलनको क्रममा ज्यान गुमाएका नागरिकहरूको चिरशान्तिको कामना गर्दै फेल्थामस्थित भक्ति योगा इन्स्टिच्युटमा शुक्रबार साँझ भजन–कीर्तन कार्यक्रम सम्पन्न भएको छ।

स्पेलथोन काउन्सिलका पूर्व मेयर तथा काउन्सिलर मेड बकको संयोजनमा फेल्थाम, हन्स्लो, स्ट्यानवेल, बेडफन्ट तथा हिथ्रो विमानस्थल आसपास बसोबास गर्ने नेपाली समुदायले कार्यक्रममा सहभागी भई नेपालको शान्ति र स्थायित्वका लागि प्रार्थना गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै काउन्सिलर मेड बकले नेपालको दिगो शान्ति र लोकतन्त्रको छिट्टै स्थापना होस् भन्ने कामना गर्दै पछिल्ला हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गरे। उनले नेपाली समुदायसँग सहकार्य गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै आगामी दिनमा पनि साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमा जेनजीको प्रतिनिधित्व गर्दै वेस्ट लण्डनस्थित रिभर एकेडेमीमा अध्ययनरत छात्रा टिया आचार्यले नयाँ पुस्ताले मात्र देश परिवर्तन गर्ने शक्ति राख्ने धारणा व्यक्त गरिन्। उनले सरकारद्वारा विद्यार्थी र युवामाथि भएको दमनप्रति दुःख व्यक्त गर्दै आन्दोलनमा प्रभावित भएका सबैले न्याय पाउनुपर्ने आवश्यकता जोड दिइन्।

रिना आचार्य र दिपा थापा गिरीको सक्रियतामा आयोजित कार्यक्रममा भक्ति योगा समूहले भक्तिपूर्ण किर्तन प्रस्तुत गरेको थियो। कार्यक्रममा उपस्थित नेपाली समुदायले राष्ट्रिय गान गाएका थिए भने अन्त्यमा नेपालमा शान्ति कायम होस् र मृत आत्माको चिरशान्ति होस् भन्ने कामनासहित दीप प्रज्वलन गरिएको थियो।

धेरै पढिएको