३१ भाद्र २०८२, मंगलवार
Follow Us

सिंहदरबार कार्यालयका मात्रै १ हजार ४२ सवारी साधन जलेर ध्वस्त

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०८२, मंगलवार ०५:२१

काठमाडौं । मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र आसपासमा रहेका सरकारी निकायमा भएको आगजनीबाट एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन् ।

जेनजी समूहले गरेको आन्दोलनका क्रममा गत मङ्गलबार भएको आगजनीबाट ४४१ वटा चारपाङ्ग्रे तथा ६०१ वटा दुईपाङ्ग्रे गरी १ हजार ४२ वटा सवारीसाधन नष्ट भएका हुन् । सबैभन्दा बढी सवारीसाधन सडक विभागका नष्ट भएका छन् । विभागले मोटरसाइकल र स्कुटर गन्न नसकिने गरी जलेको जनाइएको छ ।

त्यसपछि सर्वोच्च अदालतका ५१ वटा चारपाङ्ग्रे र गन्न नसकिने सङ्ख्यामा मोटरसाइकल/स्कुटर, सहरी विकास तथा भवन निर्माण विभागका ५० गाडी र अनुमानित दुई सय मोटरसाइकल, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका ४७ गाडी र ७४ मोटरसाइकल/स्कुटर नष्ट भएका छन् ।

त्यस्तै, अर्थ मन्त्रालयका ३६ गाडी र ५४ मोटरसाइकल/स्कुटर नष्ट भएका छन । त्यस्तै,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३३ साना गाडी र दुई बस तथा ३६ मोटरसाइकल जलेर नष्ट भएका छन् ।

सुरक्षाका दृष्टिले सिंहदरबार सुरक्षित मानिएको भए पनि त्यही परिसर नै तोडफोड र आगजनी भएपछि अकल्पनीय क्षति भएको हो ।

धेरै पढिएको