काठमाडौं । कांग्रेसका ५ पूर्व पदाधिकारीले विशेष महाधिवेशन गर्दा पार्टीमा कलह उत्पन्न हुने भन्दै नियमित महाधिवेशन गर्नुपर्ने तर्क गरेका छन । पार्टीको १५ औँ महाधिवेशन आगामी मंसिरमा गर्नुपर्ने भए पनि महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले समयमै काम नगर्दा समस्या देखिएको उनीहरूको निष्कर्ष छ ।
आइतबार पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा पूर्वमहामन्त्रीहरू सिंह, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला तथा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले छलफल गरेका हुन् ।
उनीहरुको बैठकले शुक्रबारको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वर्तमान परिस्थितिमा पार्टीलाई अगाडि बढाउन विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्न गरेको प्रस्तावले पार्टीमा कलह निम्त्याउने निष्कर्ष निकालेको हो । महामन्त्रीद्वय थापा र शर्माको प्रस्ताव कार्यसम्पादन समिति बैठकले नै अस्वीकार गरिसकेको छ ।
महामन्त्रीद्वय थापा र शर्माले वर्तमान परिस्थितिमा पार्टीलाई जोगाउन विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेका थिए । दुई घण्टा बैठक बसेका पूर्वपदाधिकारीहरूको छलफलको एजेन्डा वर्तमान राजनीतिक परिस्थिति, महामन्त्रीद्वय थापा र शर्माले कार्यसम्पादन समितिमा गरेको प्रस्ताव, आगामी केन्द्रीय समिति बैठकलगायत थियो ।
बैठकपछि पूर्वमहामन्त्री सिटौलाले पार्टीभित्र आन्तरिक कलह ल्याउने विशेष महाधिवेशनको पक्षमा पार्टीलाई लैजान नहुने, सभापति शेरबहादुर देउवा स्वस्थ भएपछि केन्द्रीय समिति बैठकबाट निर्णय गरी नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन ।