पर्साको छिपहरमाई गाउँपालिकामा दुई समूहबीच विवाद हुँदा गोली चलेको छ । पर्साको छिपहरमाई गाउँपालिकामा–५ भिस्वामा बिहीबार साँझ दुई समूहबीच विवाद हुँदा गोली चलेर एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले जानकारी दिएका छन ।
घाइते हुनेमा सोही गाउँपालिका निवासी गोलु आलम धुनिया रहेका पाठले जानकारी दिए । एसपी पाठनका अनुसार बिहीबार साँझ छिपहरमाई गाउँपालिकाको–३ र ५ का समूहबीच झडप भएको हो ।
उनीहरूबीच के विषयमा विवाद भयो भन्ने नखुलेको एसपी पाठकले जानकारी दिए । उनले भने, ‘के विषयमा विवाद भएर झडप भएको हो भन्ने खुलेको छैन, ताकेर गोली हानेको देखिँदैन, भीडमा कसैले गोली चलाएको रहेछ, एक जना घाइते भएर उपचारका लागि सदरमुकाम ल्याइएको छ ।’
घाइते धुनियाको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालामा उपचार भइरहेको छ । धुनियाको खुट्टामा गोली लागेको उनले जानकारी दिए । घटनापछि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । गोली चलाउनेको खोजी भइरहेको बताउँदै एसपी पाठकले विवादबारे प्रहरीले अनुसन्धान गर्ने पनि बताए ।