१० आश्विन २०८२, शुक्रबार
Follow Us

जेन जेड आन्दोलनपछि आफूलाई प्रधानमन्त्रीको अफर गरिएको दुर्गा प्रसाईँको दाबी

नेपालब्रिटेन संवाददाता
१० आश्विन २०८२, शुक्रबार १२:३१

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेन जेड आन्दोलनपछि आफूलाई प्रधानमन्त्रीको अफर गरिएको दाबी गरेका छन् ।

काठमाडौँबाट गृहजिल्ला बिर्तामोड पुगेका प्रसाईको स्वागतका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले प्रधान सेनापति अशोकराज सिग्देलले बोलाएर आफूलाई पहिलो पटक प्रधानमन्त्री बन्न अफर गरेको बताए । उनले प्रधानसेनापतिको प्रस्ताव अस्वीकार गरेको दाबी गरेका छन् ।

उनले कार्यक्रममा भने, ‘मैले प्रधान सेनापतिलाई भने प्रधानसेनापति ज्यू ह्वाट नेक्स्ट ? यो सरकार फेलियर भएपछि सरकार थाम्ने को हो ? तासमा दहल, गुलाम, मिस्सी, बास्सा र एक्का हुन्छ । मिस्सी र बास्सा हुँदा हुँदै एक्का किन चलाउनु ?’

प्रसाईँले आफू ‘एक्का’ भएको जिकिर गरे । उनले अहिलेको राजनीतिको अन्तिम अस्त्र आफू नै भएको दाबी गरे । उनले भने, ‘दुर्गा प्रसाईँले प्रधानमन्त्री सम्हालेको दिन २० लाख रुपैयाँभन्दा मुनिको ऋण मिनाहा हुनुपर्छ । मेरा एजेन्डा लागू हुनुपर्छ । उनले देशले गरिबका घरमा बडीगार्डबिना गएर गुन्द्रुक र भात खान सक्ने प्रधानमन्त्री खोजेको भन्दै त्यसो गर्न सक्ने आफू भएको दाबी गरे ।’

प्रसाईँले शीर्ष तीन दलका नेता राजनीतिक सुकुमबासी भएको आरोप लगाए । प्रसाईँले भने, ‘जेन(जी आन्दोलनपछि उनीहरूको उनीहरूको पैसा डढेको छ, घर जलेर नष्ट भएको छ । राजनीति सुकुमबासी भएका छन् ।’

अब उनीहरूलाई कसैले नपत्याउने प्रसाईँले टिप्पणी गरेका छन् ।

प्रसाईँले ओलीलाई वाल्मीकि बन्ने अवसर भएको बताउँदै कार्यकर्ता समेतले गल्ती गर्‍यौँ अब सच्चिन्छौँ भन्दै आफ्नो घरमा आए आश्रय दिने बताए । केपी ओलीकै कारण सबै पार्टी सक्किएको उनको दाबी छ ।

चन्द्रगढी विमानस्थलमा उनलाई बाजागाजा र फूलमालासहित समर्थकले स्वागत गरेका थिए ।

धेरै पढिएको